अन्तर्राष्ट्रिय

भानुआटु भूकम्प : मृतकको संख्या १४ पुग्यो, २ सय घाइते

भानुआटुमा मङ्गलबार आएको ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर १४ जनाको मृत्यु भएको छ। दुई सय भन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

भूकम्पका कारण अनेकौँ भवनहरू ध्वस्त भएका छन्। राजधानी पोर्ट भिलामा ठूलो विनाश भएको बीबीसीले लेखेको छ। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। उद्धार टोलीहरू घाइते र हराइरहेका व्यक्तिहरूको खोजीमा सक्रिय छन्। 

अमेरिकी भूगर्भीय सर्वेक्षण अनुसार, भूकम्प भानुआटुको मुख्य टापु एफेटको तटबाट करिब ३० किलोमिटर टाढा ५७ किलोमिटरको गहिराइमा आएको थियो। भूकम्पको केही मिनेटपछि ५.५ म्याग्निच्युडको पराकम्पन पनि आएको थियो। 

भूकम्पको गम्भीर प्रभावले पोर्ट भिलास्थित कूटनीतिक मिशनहरूद्वारा प्रयोग गरिने चार तले कङ्क्रिट भवनको भुइँ तल्ला पूरै भत्किएको छ। भूकम्पपछि फ्रान्सले आफ्नो मिशन नष्ट भएको भनेको छ भने अमेरिकाले दूतावास नै बन्द गर्ने निर्णय गरेको छ।

 भानुआटु प्रशान्त महासागरको रिम अफ फायर क्षेत्रका एक सक्रिय भूकम्पीय क्षेत्रमा स्थित छ, जहाँ प्रायः ठूलो संख्यामा भूकम्प र अन्य प्राकृतिक प्रकोपहरू आइरहन्छन्। 

यस क्षेत्रमा हालैका वर्षहरूमा भूकम्प, आँधीबेहरी, बाढी र सुनामी जस्ता प्रकोपहरूलाई ध्यानमा राख्दै भानुआटुलाई विश्वका सबैभन्दा बढी प्राकृतिक प्रकोप जोखिममा रहेका देशहरू मध्ये एक मानिन्छ।

प्रकाशित: ३ पुस २०८१ १२:५८ बुधबार

#Vanuatu #Earthquake #NagarikNews