अन्तर्राष्ट्रिय

रुसी रक्षा बजेटमा ऐतिहासिक वृद्धि, युक्रेन युद्धका लागि पुटिनको थप तयारी

रुसको तल्लो सदन डुमाले बिहीबार २०२५ को लागि तीन वर्षको बजेटलाई अनुमोदन गरेको छ। रुसको रक्षा बजेट १३.५ खर्ब रूबल (१३३.६३ अर्ब डलर) छुट्याइएको छ, जुन कुल सरकारी खर्चको झण्डै ४० प्रतिशत हो। 

मस्कोले गरेको यो वृद्धि सोभियत कालदेखि अहिलेसम्मकै सर्वाधिक हो। बजेटमा अग्रपङ्क्तिका सैनिकहरूको आकर्षक तलब र अन्य सेनासम्बन्धी खर्चको वृद्धि प्रमुख छन्। 

रूसको तल्लो सदन, स्टेट डुमाका सांसदहरूले बजेट पारित गर्ने पक्षमा मतदान गरेका हुन्। अब रुसले युक्रेनसँगको युद्धलाई थप लम्ब्याउने र तीव्र बनाउने सम्भावना छ।

राष्ट्रपति भ्लादिमिर पुटिनले यसै वर्षको शुरुमा मस्कोको अर्थतन्त्रको करिब ९ प्रतिशत रक्षा र सुरक्षामा खर्च भइरहेको बताएका थिए। डुमाका सभामुख व्याचेस्लाभ भोलोदिनले भने, ‘हामीले युरोपको सुरक्षा र समृद्धिको लागि योगदान पुर्याउने छौँ, साथै युक्रेनसँगको संघर्षमा पनि आत्मनिर्भरता कायम राख्नेछौँ।’

मस्को टाइम्सका अनुसार भोलोडिनले राष्ट्रपति भ्लादिमिर पुटिनको राजनीतिक र आर्थिक प्रणालीको प्रशंसा गर्दै भने, ‘यो बजेटले केवल प्रतिबन्धको सामना मात्र गरेको छैन, तर प्रभावकारी रूपमा काम गरिरहेको छ।’ बजेटलाई अब माथिल्लो सदनले पारित गर्नुपर्नेछ, राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र कार्यान्वयनमा जानेछ।

 

प्रकाशित: ७ मंसिर २०८१ ०८:२० शुक्रबार

#Russian defense budget #Ukraine war