अन्तर्राष्ट्रिय

इजरायली हमलामा १२ लेबनानी चिकित्सकको मृत्यु, स्वास्थ्यकर्मीलाई निशाना नबनाउन डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले इजरायली हवाई हमलामा मारिएका १२ प्यारामेडिक (चिकित्सा-सहायक) को मृत्युप्रति दुःख व्यक्त गरेका छन्। उनले केन्द्रमा ठूलो क्षति पुगेको भन्दै द्वन्द्वमा स्वास्थ्य सेवामाथिको आक्रमण सामान्य बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे। 

सबैतिर युद्धको समयमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई निशाना बनाउन रोक्नुपर्ने उनको भनाई छ। पूर्वी लेबनानको बालबेकको गाउँ डुरिसमा रहेको केन्द्रमा बिहीबार राति इजरायलले नागरिक रक्षा केन्द्रमा हमला गर्दा कम्तीमा १२ प्यारामेडिकहरू मारिएका थिए। 

बालबेकका गभर्नर बचिर खोडोरले भग्नावशेषमुनिबाट १२ नागरिक रक्षा सदस्यको शव निकालिएको जानकारी दिए। 

हवाई आक्रमणको समयमा केन्द्रमा करिब २० प्यारामेडिकहरू रहेको पाइएको छ। सेप्टेम्बर २३ देखि, इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तीव्र पारेको छ।

प्रकाशित: १ मंसिर २०८१ ०७:४४ शनिबार

#WHO #UN