अन्तर्राष्ट्रिय

बंगलादेशका गृह मामिला सल्लाहकारले अल्पसंख्यकसँग मागे माफी

नयाँ राजनीतिक परिवर्तनसँगै बंगलादेशका हिन्दुलगायत अन्य अल्पसंख्यकहरूलाई आक्रमण भएको घटनाप्रति बंगलादेशका गृह मामिला सल्लाहकार तथा पूर्व ब्रिगेडियर जनरल एम सखावत हुसेनले माफी मागेका छन्। बिबिसी हिन्दीका अनुसार पछिल्ला दिनमा बंगालादेशको अन्तरिम सरकारले अल्पसंख्यकहरूलाई सुरक्षा प्रदान गर्न असफल भएकोमा उनले माफी मागेका हुन्।

‘अल्पसंख्यकलाई सुरक्षा दिने दायित्व बहुमतको हो। तर उनीहरूले सुरक्षा दिन सकेनन्,’ उनले भनेका छन्, ‘तपाईंहरू मस्जिदमा गएर पाँचपटक नमाज पढ्नुहुन्छ तर अल्पसंख्यकहरूलाई सुरक्षा दिन सक्नुभएन। यो हाम्रो धर्ममा छ। अल्पसंख्यकहरूलाई सुरक्षा प्रदान गर्ने जिम्मेवारी तपाईंको हो। तपाईं असफल हुनुभयो। यसको जवाफ दिनुपर्छ,’ गृह मामिला सल्लाहकार हुसेनले सोमबार भनेका छन्।

‘म मेरा अल्पसंख्यक दाजुभाइसँग माफी माग्न चाहन्छु। हामीलाई माफ गर्नुहोस्। स्थिति अझै अस्थिर छ। हामीले जताततै सुरक्षा दिन सकेनौं। कतिपय ठाउँमा नागरिक समाजले अल्पसंख्यकलाई संरक्षण दिएको छ। प्रहरी र ¥यापिड एक्सन फोर्सको अवस्था अझै राम्रो छैन। तर स्थितिमा सुधार आउनेछ,’ उनले भनेका छन्।

उनले छिट्टै आउन लागेका जन्माष्टमी र दुर्गा पूजाको अवधिमा पूर्ण सुरक्षाको आश्वासन दिएका छन्। हुसेनले जन्माष्टमी पूजाका लागि सबै प्रकारको सुरक्षा व्यवस्था मिलाउने आश्वासन दिएका छन्। उनले दुर्गा पूजाको बिदा तीन दिन लम्ब्याउन पनि सुझाव दिए।

‘प्रहरीले आवश्यक सुरक्षा दिनेछ। हाम्रो काम भनेको हिन्दू, मुस्लिम, इसाई सबैको रक्षा गर्नु हो,’ उनले भने, ‘हामी कुनै तेस्रो पक्षले देशको बदनाम गरोस् भन्ने चाहँदैनौं। धेरैले भारत जाने भनेका छन्। तर कोही पनि दोस्रो दर्जाको नागरिक बन्न चाहँदैनन्।’

प्रकाशित: २९ श्रावण २०८१ ०७:३३ मंगलबार

# Naya Rajnitik Paribartan