अन्तर्राष्ट्रिय

सुडान र दक्षिणी सुडानको सीमामा दुई समूहबीच लडाई, ५२ जनाको मृत्यु

सुडान र दक्षिणी सुडानको सीमामा भएको लडाईमा एकजना शान्ति सुरक्षा सैनिकसहित ५२ जनाको मृत्यु भएको छ। दुई समूहबीच भएको लडाईमा ६४ जना घाइते भएको संयुक्त राष्ट्र सङ्घका अधिकारीहरूले बताएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सुडानको वारेप राज्यका हतियारधारी समूहले छिमेकी अबेई क्षेत्रमा आक्रमण गरेका थिए।

जमिनको विषयलाई लिएर ट्विक डिङ्का र न्गोक डिङ्काबीच लडाई भएको बताइएको छ।

दक्षिण सुडान र सुडान दुबै अबेईमाथि आफ्नो अधिकार रहेको दावी गर्दै आएका छन्। दुबै देशबीच २०११ म भागबन्डा भएपछि हालसम्म पनि अबेई क्षेत्रको विवाद सल्टिन सकेको छैन।

अबेई क्षेत्रमा तैनात संयुक्त राष्ट्रको सुरक्षा बल यूनिस्फाका अनुसार गोली लागेर घानाका एकजना शान्तिरक्षक सेनाको मृत्यु भएको छ। 

अबेई क्षेत्रमा नेपालको तर्फबाट पनि शान्ति सैनिक खटिएका छन्। तर, आक्रमणमा भने नेपाली सैनिक सुरक्षित रहेको बताइएको छ। ९७ जनाको नेपाली सेनाको टोली सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए।

प्रकाशित: १६ माघ २०८० ०१:३३ मंगलबार

शान्ति सुरक्षा सैनिक सुडान दक्षिणी सुडान ५२ जनाको मृत्यु संयुक्त राष्ट्र सङ्घ