संयुक्त अरब इमिरेट्स (युएई) को फुजैराहमा १८ वटा कार र पाँचवटा ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।
दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। युएईको आन्तरिक मन्त्रालयका अनुसार बुधबार राति फुजैराह प्रवेशद्वार नजिक दुर्घटना भएको हो।
मन्त्रालयका अनुसार एक ट्रक चालकले आफ्नो गाडीको नियन्त्रण गुमाउँदा अर्को सवारीसाधनसँग ठोक्किएको थियो। त्यसपछि दुवै गाडी सडकबाट बाहिर निस्किएका थिए। सुस्त गतिमा चलिरहेको ट्राफिकका कारण रोकिएका अन्य सवारीसाधनमा समेत ठक्कर लाग्दा दुर्घटना भयावह बनेको थियो।
दुर्घटनापछि ट्रकमा आगलागी भएको र आगो अन्य सवारीसाधनमा समेत फैलिएको मन्त्रालयले जनाएको छ। घटनास्थलमा आपतकालीन तथा विशेषज्ञ टोली परिचालन गरी उद्धार र राहत कार्य गरिएको थियो।
मन्त्रालयका अनुसार घाइतेमध्ये १५ जनालाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ भने अन्य १५ जना अझै अस्पतालमा उपचाररत छन्।
दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये युएईका नागरिकसहित विभिन्न देशका नागरिक रहेको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलाउन डीएनए परीक्षण भइरहेको छ।
घाइते हुनेहरूमा युएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिक रहेको आन्तरिक मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित: २७ कार्तिक २०८३ ०६:५७ शुक्रबार



