अन्तर्राष्ट्रिय

जिमी कार्टरकी पत्नी रोजालिनको निधन,जिमि भन्छन्,‘मेरा सबै कुरामा उनी समान साझेदार थिइन’

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टर पत्नी रोजालिनका साथमा।

अमेरिकाका पूर्व राष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरकी पत्नी रोजालिन कार्टरको ९६ वर्षको उमेरमा गएराती निधन भएको छ।

कार्टर सेन्टरले एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको छ । जर्जियास्थित आफ्नो घरमा गएराती उनको निधन भएको हो। 

उनी जर्जिया राज्यको एक हेरचाह गृहमा फेब्रुअरीदेखि रहेका आफ्ना ९९ वर्षीय श्रीमानसँग समय बिताइरहेकी थिइन्।श्रीमती कार्टरलाई  डिमेन्सिया भएको गत मे महिनामा पत्ता लागेको थियो।

यो जोडी गत जुलाईमा मात्र ७७ औँ विवाह उत्सव मनाएको थियो। ‘मैले हासिल गरेका सबै कुरामा रोजालिन मेरो समान साझेदार थिइन’, श्रीमान् जिमी कार्टरको भनाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

‘उनले मलाई आवश्यक पर्दा मार्गदर्शन र प्रोत्साहन पनि दिन्थिन्।जबसम्म रोजलिन संसारमा थिइन, मलाई सधैँ कसैले माया र सहयोग गरिरहेको महसुस हुन्थ्यो’,जिमिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भनेका छन्।श्रीमती कार्टरको जन्म १८ अगस्ट १९२७ मा एलेनोर रोजालिन स्मिथमा भएको थियो।

जिमि कार्टर नेपाल प्रेमी अमेरिकी पूर्व राष्ट्रपतिका रूपमा चिनिन्छन् । उनले परोपकारी संस्था ह्बिट्याट फर हुम्यानिटी मार्फत संसारभर काम गरिरहेका छन्।

संयुक्त राज्य अमेरिकाको ३९औँ राष्ट्रपति कार्टर नेपालको संविधानसभाको अवलोकन गर्न एक साता लामो भ्रमणका लागि सन् २०१३ नोभेम्बरमा नेपाल आइपुगेका थिए। उनी प्रकृति प्रेमी छन्। जैविक विविधता क्षेत्रको अवलोकन उनको रुचिमा पर्छ।

कार्टरलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित: ४ मंसिर २०८० ०४:३० सोमबार