भारतको मध्य प्रदेशस्थित मन्दसौर जिल्लामा चकलेटको विषयमा भएको विवादपछि १२ वर्षीया बालिकाले चार वर्षीय बालकलाई पानीको ट्यांकीमा डुबाएर ज्यान लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना सोमबार भएको हो। बालिकाले चकलेट दिने बहानामा बालकलाई घरको छतमा लगेर पानीको ट्यांकीमा धकेलेकी थिइन्। त्यसपछि ट्यांकीलाई ढुंगाको स्ल्याबले छोपिदिएको आरोप छ।
करिब तीन घण्टापछि बालिकाका बुबाले ट्यांकीमा बालकको शव फेला पारेका थिए। उनलाई त्यतिबेला आफ्नै छोरी घटनामा संलग्न रहेको जानकारी थिएन।
बालकको परिवार बालिकाको घर नजिकै भाडामा बस्दै आएको थियो। बालक हराएपछि उनका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले खोजी सुरु गर्दै छिमेकीका घरका छत र पानीका ट्यांकी जाँच गर्न आग्रह गरेको थियो।
खोजीका क्रममा प्रहरीले छिमेकका बालबालिकासँग सोधपुछ गरेको थियो। त्यसक्रममा बालिकाले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानअनुसार केही दिनअघि बालिकाले बालकको चकलेट खाएकी थिइन्। त्यसपछि बालककी आमाले उनलाई गाली गरेकी थिइन्। यही कुराले रिसाएकी बालिकाले बदला लिन घटना गराएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
पोस्टमार्टमबाट बालकको मृत्युको कारण पुष्टि भएपछि बुधबार बाल न्याय ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो।
प्रहरीले बालिकालाई अदालतमा उपस्थित गराएपछि सरकारी बालगृहमा पठाएको छ। बालिका नाबालिग भएकाले बाल न्यायसम्बन्धी कानुनी व्यवस्थाअनुसार थप प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: १४ कार्तिक २०८३ १४:२० शनिबार