अन्तर्राष्ट्रिय

बिहारमा भएको दुर्घटनामा १० जनाको मृत्यु

दुर्घटनास्थल ।

भारतको पूर्वी राज्य बिहारमा शनिबार एउटा अटोरिक्सा र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

बिहारको राजधानी पटनाको दनियावन–हिल्सा राजमार्गमा यो दुर्घटना भएको हो ।

‘शनिबार विपरीत दिशाबाट आउँदै गरेको अटोरिक्सालाई ट्रकले ठक्कर दिँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ,’ एक वरिष्ठ प्रहरी अधिकारीले भने। अटोरिक्सा चालकसहित यसमा सवार यात्रुहरू हताहत भएका प्रहरीले जनाएको छ ।  

तीन जनालाई उपचारका लागि अस्पताल लगिएको र उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ ।

मृत्यु भएका १० जनामध्ये ९ जना महिलासहित अटोरिक्सा चालक रहेको र बाँकी ट्रकमा आएका व्यक्ति रहेको अधिकारीहरुले बताएका छन् ।

ठक्करबाट अटोरिक्सामा पूर्णरुपमा क्षति भएको छ ।  

दुर्घटनापछि फरार रहेका ट्रक चालकको लापरबाहीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ । ट्रक चालकलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको छ ।

प्रकाशित: ७ भाद्र २०८२ २०:४१ शनिबार