सदरमुकामस्थित सरकारी उदयपुर जिल्ला अस्पतालमा नयाँ हाकिम आएपछि खैलाबैला मच्चिएको छ।
साउन २५ गते नवौँ तहका डा. सन्तोष राई नयाँ मेसु (मेडिकल सुपरिटेन्डेन्ट) का रूपमा हाजिर भएदेखि कर्मचारी वृत्तमा खैलाबैला मच्चिएको अस्पताल स्रोतले जानकारी दिएको छ। सरकारले काजमा खटिएका सबै कर्मचारीलाई फिर्ता गरेसँगै काजमै कार्यरत मेसु डा. वीरेन्द्र मण्डल सप्तरी तानिएपछि प्रशासनिक भद्रगोल बढेको र अस्पतालको उपचार सेवा प्रभावित हुँदै आएको छ। रिक्त रहेको मेसुमा सरुवा लिएर आएका नवौँ तहका डा. राईले हाजिर भएलगत्तै कर्मचारी प्रशासनमा कडाइ गर्नुले तनाव सुरु भएको हो। डा. राई सरुवा भएर आएलगत्तै कर्मचारी बैठक राखेर अस्पताल सुधारको योजना बनाउने बताएका थिए।
मन्त्रालयले अस्पताल सुधार गर्ने जिम्मेवारी दिएर पठाएको भन्दै उनले सबभन्दा पहिला कर्मचारी र चिकित्सक तथा स्वास्थ्यकर्मी सही भएपछि मात्र अन्य सुधारका काम गर्न सकिने भन्दै सहयोग लिने कोसिस गर्दा विवाद उत्पन्न भएको हो। डा. राईले स्वास्थ्यकर्मी र कर्मचारी प्रशासनलाई व्यवस्थित गर्न खोज्दा कर्मचारीहरू नमानेको बताएका छन्। अस्पतालको प्रशासनिक सुधारका लागि कडा कदम चाल्नुपर्ने देखेपछि सोहीअनुसार गर्न खोज्दा केही चिकित्सक र कर्मचारीले असहमति जनाउँदै आन्दोलित भएका तीन जना चिकित्सकले राजीनामा दिएका हुन्।
अस्पताल विकास समितिमार्फत कार्यरत करारका आठौँ तहका तीन जना एमबिबिएस चिकित्सक र एक जना कार्यालय सहयोगीले राजीनामा दिएका छन्। एमबिबिएस चिकित्सकहरू मनिष यादव, देविका चौधरी र पुरुषोत्तम यादवले बिहीबार राजीनामा दिएका थिए। उनीहरूको राजीनामा मेसु डा. राईले शुक्रबार स्वीकृत गरिसकेको बताए। कार्यालय प्रमुखको अस्पताल सुधार अभियानमा साथ दिन नचाहेर राजीनामा दिएपछि आफूले पनि मार्ग प्रशस्त गर्न स्वीकृत गरेको उनको भनाइ छ।
तीन चिकित्सकको राजीनामासँगै स्थायी सेवामा रहेका गाइनेकोलोजी विशेषज्ञ डा. मुकेश झाले पनि सरुवा लिने तयारी गरेको पाइएको छ। डा. झाले यसअघि आफैँ मन्त्रालय पुगेर सरुवाको माग गरेका थिए। उनी नयाँ मेसुका रूपमा डा. राई आउनुअघि निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा थिए। स्त्रीरोग विशेषज्ञ डा. झाको सरुवा कटारी अस्पतालमा गर्ने निर्णय भइसकेको प्रदेश मन्त्रालय स्रोतले जानकारी दिएको छ। प्रदेश सरकार मातहतका स्थायी चिकित्सक डा. झा आउँदो सोमबारभित्रै रमाना लिएर जाने तयारीमा छन्।
जिल्ला अस्पतालमा मेसु डा. राई र झा गरी दुई जना मात्र स्थायी विशेषज्ञ छन्। अन्य कार्यरत दर्जनौँ विशेषज्ञ चिकित्सकहरू छात्रवृत्ति करार, प्रदेश करार, कार्यक्रम करार तथा अस्पताल विकास समितिबाट नियुक्त करारका हुन्। झाको सरुवा भएमा स्थायी चिकित्सकमा मेसु राई मात्र रहने र बाँकी सबै करार सेवाबाट काम चलाउनुपर्ने भएको छ।
५० शय्या स्वीकृत दरबन्दी रहेको उदयपुर जिल्ला अस्पतालले हाल ८५ शय्यामा उपचार सेवा प्रदान गरिरहेको छ। बालरोग विशेषज्ञ एक जना, सर्जन दुई, इन्टरनल मेडिसिन दुई, अर्थोपेडिक तीन, रेडियोलोजिस्ट एक, स्त्रीरोग विशेषज्ञ दुई तथा दन्तरोग विशेषज्ञ दुई जना कार्यरत छन्।
मेसु डा. राईले अस्पताल सुधारको योजनासहित आफूले प्रशासनिक व्यवस्थापन गर्न खोज्दा चिकित्सक र कर्मचारीबाटै असहयोग भएको गुनासो गरेका छन्। लथालिंग अस्पताल प्रशासन सुधार गर्ने सर्तमा मन्त्रालयले आफूलाई मेसुका रूपमा खटाएको बताउँदै हाजिर भएलगत्तैदेखि सुधार अभियानमा लागेको उनले सुनाए। तर, स्टाफ बैठक राखेर सुधारका योजना बनाउन खोज्दा सहकर्मीबाटै असहयोगको महसुस गरेको उनको भनाइ छ।
‘मैले सरकारी अस्पतालका चिकित्सकहरू तोकिएको समयसम्म अस्पतालमै उपचार सेवामा खट्नुपर्छ भन्ने निर्देशन दिएँ,’ डा. राईले भने, ‘तर, हाम्रा कतिपय साथीहरू अफिस टाइममा पनि निजी अस्पताल जाँदा रहेछन्। यो देखेर मैले कडाइ गर्न खोजेको त राजीनामा नै दिएर गए।’ सरकारी सेवा-सुविधा लिने कर्मचारी र चिकित्सकले अफिस समयमा निजी अस्पतालमा काम गर्नु राज्य र बिरामी दुवैप्रति गद्दारी हुने उनको बुझाइ छ। त्यसो नगर्न सुझाउँदा आफूलाई छुचो सावित गराउन खोजेको डा. राईले बताएका छन्।
स्वास्थ्यकर्मीहरूको सामान्य कमजोरीले बिरामीले सेवा नपाउने मात्र नभएर अकाल मृत्यु रोज्न पनि बाध्य हुनुपर्ने भएकाले चिकित्सकको पहिलो सर्त बिरामीको उपचार नै हुनुपर्ने उनको भनाइ छ। राजीनामा दिएर रिक्त भएको दरबन्दीमा तत्काल चिकित्सक नियुक्ति प्रक्रिया अघि बढाउन मन्त्रालय र सम्बन्धित निकायसमक्ष पत्राचार गर्ने बताउँदै डा. राईले अस्पताल प्रशासन र उपचार सेवा चुस्त-दुरुस्त राख्न सक्दो पहल गरिरहने दाबी गरेका छन्।
प्रकाशित: ६ भाद्र २०८३ १८:५७ शनिबार



