नेपालमा क्यान्सरको निदान र उपचारमा हुने अत्यधिक ढिलाइले धेरै बिरामी संक्रमणको अन्तिम चरणमा पुगेपछि मात्र अस्पताल आउने गरेको नयाँ अध्ययनले देखाएको छ।
विश्व स्वास्थ्य सङ्गठन अन्तर्गतको क्यान्सर अनुसन्धान निकाय IARC/WHO मा कार्यरत नेपाली वैज्ञानिक डा. दिपेन्द्र सिंहको नेतृत्वमा भएको अध्ययन बीएमजे ग्लोबल हेल्थमा प्रकाशित भएको छ ।
अध्ययनले नेपालकै सबैभन्दा ठूलो क्यान्सर उपचार केन्द्र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ महिनासम्म (जुन–नोभेम्बर २०२२) दर्ता भएका एक हजार १८२ नयाँ क्यान्सर बिरामीको विवरण संकलन गरेको थियो। ‘Delays in Cancer Care in Nepal (DECAN)’ नामक यो prospective observational अध्ययनमा बिरामीसँग प्रत्यक्ष अन्तरवार्ता गरी उनीहरूको सामाजिक–आर्थिक विवरण, लक्षण देखा पर्न सुरु भएको समय, स्वास्थ्य सेवा खोजेको समय, क्यान्सर पत्ता लाग्ने समय र उपचार सुरु हुने समयबारे तथ्यांक संकलन गरिएको थियो।
अध्ययनले क्यान्सर उपचारका तीनै चरण: स्वास्थ्य सेवा खोज्ने, निदान हुने र उपचार सुरु हुने सबैमा उल्लेखनीय ढिलाइ हुने पुष्टि गरेको छ। अध्ययन अनुसार ५० प्रतिशत बिरामीले पहिलोपटक स्वास्थ्य संस्थामा पुग्न एक महिनाभन्दा बढी कुर्नुपरेको थियो। स्वास्थ्य संस्थामा पुगेपछि क्यान्सर पहिचान (निदान) पाउन डेढ महिनाभन्दा बढी समय लागेको र त्यसपछि उपचार सुरु हुन फेरि पनि ढिलाइ भएको देखिएको छ।

यसरी लक्षण देखा परेको करिब ४ महिनापछि मात्र धेरै बिरामीले उपचार सुरु गरेका थिए। झनै गम्भीर रूपमा २५ प्रतिशत बिरामीले उपचार प्रारम्भ गर्न ६ महिनाभन्दा बढी कुर्नुपरेको अध्ययनले जनाएको छ।
छ वटा प्रमुख क्यान्सर (स्तन, फोक्सो, गर्भाशय, पेट, कोलोरेक्टल र मुख) का ६६६ जना, अर्थात् ५६.४ प्रतिशत बिरामी स्टेज तीन, चारमा पुगेपछि मात्र अस्पताल आएका थिए। पुरुषहरूमा महिलाभन्दा उन्नत चरणमा क्यान्सर भएर स्वास्थ्य सेवामा आउने सम्भावना बढी पाइएको छ ।
क्यान्सरका प्रकारहरूमध्ये फोक्सोको क्यान्सर सबैभन्दा बढी पत्ता लाग्ने क्यान्सर भएको देखिएको छ भने पेटको क्यान्सर दोस्रो स्थानमा परेको छ। तुलनामा कोलोरेक्टल क्यान्सर सबैभन्दा कम उन्नत चरणमा पत्ता लाग्ने क्यान्सर देखियो।
अध्ययनले क्यान्सर पहिचान, रिफरल प्रक्रिया र परीक्षण सुविधा अभावजस्ता कारणले नेपालमा क्यान्सर उपचारमा प्रणालीगत ढिलाइ भइरहेको निष्कर्ष निकालेको छ। प्राथमिक स्वास्थ्य सेवामा आवश्यक सीप, समयमै रिफरलको अभाव, पाथोलोजी र इमेजिङ सुविधाको सीमित पहुँच तथा उपचार सुरु गर्नुपर्ने प्रक्रियागत जटिलता यसका प्रमुख कारण रहेको डा. सिंहले बताए।
अध्ययनले सार्वजनिक शिक्षा र क्यान्सरका प्रारम्भिक लक्षणबारे जागरूकता बढाउन, प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्न, पाथोलोजी तथा इमेजिङ क्षमतामा सुधार गर्न, ट्यूमर बोर्डको समन्वयमा उपचार सुरु गर्ने प्रक्रियालाई छिटो बनाउनु पर्ने र निदानदेखि उपचार सुरु हुने समय (interval metrics) नियमित रूपमा ट्र्याक गर्ने व्यवस्था विकास गर्न सुझाव दिएको छ।
विशेषगरी सर्वसाधारणका लागि दीर्घकालीन वा असामान्य लक्षण देखिएपछि ढिलाइ नगरी स्वास्थ्य सेवा लिनुपर्ने अध्ययनले ध्यानाकर्षण गराएको छ। गाँठा देखिनु, निरन्तर खोकी, तौल घट्नु, रगत देखिनुजस्ता लक्षणहरू क्यान्सरका प्रारम्भिक संकेत हुन सक्ने भएकाले तत्काल चिकित्सकको सल्लाह लिनु आवश्यक छ।
स्वास्थ्यकर्मी तथा योजना निर्माणमा संलग्न निकायहरूले क्यान्सर उपचार कति गरियो भन्ने मात्र होइन, बिरामीहरू कहाँ–कहाँ ढिलाइमा परे भन्ने पक्षमा ध्यान दिनुपर्ने अध्ययनले सुझाव दिएको छ।
‘क्यान्सर उपचारमा भइरहेका यी ढिलाइहरू घटाउनु क्यान्सरका नतिजा सुधार गर्न मात्र होइन, नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि पनि अत्यन्त आवश्यक छ,’ डा. सिंहले भने।
उनका अनुसार बहु–क्षेत्रीय संयुक्त प्रयासमार्फत नेपालले WHO ले तोकेको प्रारम्भिक निदान लक्ष्य हासिल गर्ने सम्भावना उच्च छ।
प्रकाशित: ४ मंसिर २०८२ १५:०४ बिहीबार



