सुनसरीको इनरुवामा जन्मेकी निशा मेहता शुक्रबार मन्त्रिपरिषदको शपथसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन्। मेहता हालसम्म बनेका महिला स्वास्थ्य तथा जनसंख्या मन्त्री पूर्ण मन्त्री बन्ने तेस्रो महिला हुन् ।
राजा वीरेन्द्रको पालामा सुशीला थापा स्वास्थ्य मन्त्री बनेकी थिइन । त्यसको साढे तीन दशकपछि निर्वतमान स्वास्थ्य मन्त्री सुधा गौतम शर्मा र अहिलेकी मेहताले मन्त्रालयको पूर्ण अधिकार पाएका हुन् ।
तीन बाहेकका अरु महिलाहरूले राज्यमन्त्रीको मात्र जिम्मेवारी सम्हालेका थिए । २०१५ मा सम्पन्न निर्वाचनमा विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री बनेको बेला द्वारिकादेवी ठकुरानी पनि स्वास्थ्य उपमन्त्रीको रुपमा जिम्मेवारी समालेकी थिइन । यसअघि पदभार ग्रहण गर्नेमा नेकपा माओवादीको तर्फबाट धर्मशिला चापागाइँ र शशी श्रेष्ठ, नेकपा एमालेको तर्फबाट पद्मा अर्याल स्वास्थ्य राज्य मन्त्रीका रुपमा जिम्मेवारी पाएका थिए । डा. तोशिमा कार्कीले पनि स्वास्थ्य राज्यमन्त्रीको रुपमा भूमिका निर्वाह गरेकी थिइन ।
को हुन स्वास्थ्यमन्त्री मेहता ?
हालै शपथ लिएकी स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता सुनसरीको इनरुवामा २०४४ सालमा जन्मेकी थिइन । सुरुदेखि नै राष्ट्रिय स्वतन्त्र पाटीमा आवद्ध मेहता सोही पाटीको तर्फबाट समानुपातिक सांसद भई मन्त्रीको जिम्मेवारी पाएकी हुन ।
भारतबाट नर्सिङ बिषयमा स्नाकोत्तर गरी विराट मेडिकल कलेजमा काम गरेकी मेहताको अन्य स्वास्थ्य क्षेत्रको पनि अनुभव रहेको राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय सदस्य महेश्वर घिमिरेले बताए । उनका अनुसार महेताले आफैँ डेन्टल क्लिनिक तथा अस्पताल सञ्चालन गरेकी छन् ।
मेहता स्वास्थ्यमन्त्री बनेसँगै महिला तथा मधेसी समुदायको समावेशीको प्रतिनिधित्व गरेको घिमिरको बुझाइ छ । उनले भने, ‘पाटीले मन्त्रिपरिषदमा सबै प्रकारको समुदायको प्रतिनिधित्व होस भन्ने उद्देश्यले निर्णय लिएको हो ।’
प्रकाशित: १३ चैत्र २०८२ १६:१४ शुक्रबार