गत आर्थिक वर्षको तथ्याकं अनुसार मधेस प्रदेशमा सवै भन्दा बढी क्षयरोगी फेला परेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा पुष्टि भएका ३९ हजार एक सय १८ जनामा संक्रमित फेला परेका छन् । ती मध्येमा करिव १३ सय जनाको मृत्यु भएको तथ्यांक छ ।
कुल संक्रमित मध्येमा २५ प्रतिशत मधेस ९ हजार ७ सय ७८ जना छन् । त्यसपछि दोस्रोमा बाग्मती प्रदेशमा २३ प्रतिशत, लुम्विनीमा २० प्रतिशत, कोशीमा १२, सुदुरपश्चिममा ९, गण्डकीमा ७ र कर्णालीमा ४ प्रतिशत संक्रमित छन् ।
सोमबार राष्ट्रिय क्षयरोग केन्द्रले नेपालमा क्षयरोगको स्थिति बारे सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ ।
सो क्रममा मधेस प्रदेशका केही जिल्लाका क्षयरोगी औषधि पुरा मात्रा सेवन नगर्ने, कतिपय संक्रमित समयमै उपचारमा नजाने, उपचारमा पुगेका स्वास्थ्य संस्थामा पहिचानको लागि उचित साधन नपुग्नु , क्षयरोग उपचारमा बजेटको कमी हुनु जस्ता कारणले क्षयरोगी नियन्त्रणको चुनौती बनेको राष्ट्रिय क्षयरोग केन्द्रका छातिरोग विशेषज्ञ डा. नविनप्रकाश शाहले बताए ।
तराईका सीमाना जिल्लाका क्षयरोगी पहिचानपछि पनि उपचार नसकी भारतीय जागिरमा जाने प्रबृत्तिले पनि समस्या बढेको बताए । ‘अलिक निको भएपछि निको भएँ अब किन औषधि खानु भन्ने सोंचले काममा भारत गएको देखिन्छ’ उनले भने ।
यस्तो प्रबृतिले फर्किदा परिवारमा र भारतमा जाँदा अन्यलाई समेत संक्रमण बढ्ने जोखिम हुने उनले बताए ।
मधेस प्रदेश बाहेक देशका अन्य भागमा पनि बीचैमा औषधि छोड्ने र क्षयरोग लाग्दा नै औषधि प्रतिरोधी क्षमता भएका क्षयरोगको संक्रमण हुनेको संख्या पनि उल्लेखनीय रहेको डा. तिवारीले प्रस्तुत गरे ।
उनको अनुसार गत वर्ष ६ सय २५ सय जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो । औषधि प्रतिरोधी क्षयरोगी मध्येमा ३ सय ९७ जनाले मात्र औषधि सेवन गरिरहेका छन् ।
संक्रमित मध्येमा ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला छन् । ती मध्येमा १४ वर्षमुनिका ५.६३ प्रतिशत छन् । क्षयरोग भएका मध्येमा ९४ प्रतिशतको एचआइभी परीक्षण भएको छ । सवैजसो प्रदेशमा ९५ प्रतिशतमा एचआइभी परीक्षण भएको पाइएको हो ।
कुनै पनि क्षयरोग पत्ता लागेपछि समयमै चिकित्सकको निगरानीमा औषधि पुर्ण मात्रा औषधि सेवन गरेमा निको हुने भएकोले हरेक संक्रमितले औषधि सेवन गर्न चिकित्सकले सुझाएका छन् । राष्ट्रिय क्षयरोग केन्द्रका छातिरोग विशेषज्ञ डा. शाह भन्छन्, ‘पुर्ण मात्रामा सेवन गर्ने र पोषित खाना खाएमा क्षयरोग पुरै निको हुन्छ’ उनले भने ।
चिकित्सकका अनुसार माइक्रो ब्याक्टेरियम ट्युवरक्लोसिस नामक सुक्ष्म कीटाणुवाट हुने सरुवा रोग हो । संक्रमित व्यक्ति खोक्दा निस्केको थोपा श्वास–प्रश्वासको माध्यमवाट अर्को व्यक्तिमा पुगेमा क्षयरोग लाग्छ । क्षयरोग लागेमा साँझपख ज्वरो आउने, दुई हप्ता भन्दा बढी लगातार ज्वरो आउनु, वजन घट्नु, साँझपख पसिना आउनु, छाति दुख्नु, खकारमा रगत देखा पर्ने जस्ता लक्षण देखिन्छ । यी लक्षण देखिएका संक्रमितले समयमै उपचार नगरेमा व्यक्तिको मृत्यु हुने या क्रोनिक क्षयरोगको समस्या हुन्छ ।
केन्द्रको अनुसार नेपालमा क्षयरोग पहिचानको लागि विभिन्न आधुनिक प्रयोगशालादेखि आधुनिक एक्सरे उपलब्ध छन् । पहिचान भएमा सबै औषधि नजिकको डटस क्लिनिकबाट निःशुल्क उपलब्ध हुने व्यवस्था छ । नेपाल सरकारले सन् २०५० सम्ममा क्षयरोग उन्मुलन गर्ने लक्ष्य लिएको छ ।
त्यो भन्दा अघि सन् २०३५ भित्रमा नियन्त्रणमा लिने लक्ष्य लिएको छ । लक्ष्य पुरा गर्नको लागि क्षयरोग उपचारमा विरामीको पकेटवाट उपचार खर्च घटाउने, प्रत्येक पालिकालाई जिम्मेवार बनाउन क्षयरोग मुक्त पालिका घोषणा अभियान सुरु गरेको केन्द्रले जनाएको छ ।
मधुमेह,क्यान्सर, एचआइभी र शरीरमा प्रतिरक्षा कमजोर भएका व्यक्तिमा क्षयरोग सर्ने जोखिम बढी हुन्छ । वातवरणमा भएको क्षयरोगको किटाणु अरु मानिसको शरीरमा पनि प्रवेश गरेको हुन्छ । तर शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएमा क्षयरोग सक्रिय हुने चिकित्सक बताउँछन् ।
यस्तो जोखिममा रहेका व्यक्तिमा यी मध्ये कुनै पनि क्षयरोग लक्षण देखिएमा समयमै उपचार गर्ने, पूर्ण रुमपा औषधि सेवन गर्ने र पौष्टिक खाना खाएमा निको हुने डा. शाह सुझाउँछन् ।
प्रकाशित: १६ भाद्र २०८२ २०:२५ सोमबार



