स्वास्थ्य

कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बिमा सेवा स्थगित

कोहलपुर नगर अस्पतालबाट सञ्चालन हुँदै आएको स्वास्थ्य बिमाअन्तर्गतको औषधि वितरण तथा प्रयोगशाला सेवा अर्को निर्णय नआएसम्मका लागि स्थगित गरिएको छ । यस निर्णयपछि स्वास्थ्य बिमा कार्यक्रममार्फत सेवा लिँदै आएका सेवाग्राहीहरू प्रत्यक्षरूपमा प्रभावित भएका छन् ।

कोहलपुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय मातहत सञ्चालन हुँदै आएको कोहलपुर नगर अस्पतालले स्वास्थ्य बिमा बोर्डको नयाँ निर्णय र परिपत्रअनुसार निर्धारण गरिएको सेवा थैलीको दररेट अत्यन्त न्यून भएको भन्दै उक्त दररेटमा सेवा दिन नसकिने जनाएको छ । 

स्वास्थ्य बिमा बोर्डको जेठ ११ गतेको निर्णय तथा जेठ १२ गतेको परिपत्रअनुसार जेठ १६ गतेदेखि लागू हुने गरी सेवा थैली परिमार्जन गरिएको थियो । तर परिमार्जित दररेटअनुसार औषधि तथा प्रयोगशाला परीक्षणको मूल्य अत्यन्त न्यून रहेको र सो दरमा सेवा सञ्चालन गर्दा आर्थिक रूपमा धान्न नसकिने अवस्था सिर्जना भएको अस्पताल प्रशासनले जनाएको छ ।

यही कारणले जेठ १९ गते (मंगलबार) बसेको नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले हाललाई स्वास्थ्य बिमाअन्तर्गत औषधि वितरण तथा प्रयोगशाला सेवा स्थगित गर्ने निर्णय गरेको हो । अर्को निर्णय नआएसम्मका लागि यो सेवा बन्द रहने सूचनामा उल्लेख गरिएको छ । अस्पताल प्रमुख डा. आनन्दकुमार चोरावारले नयाँ दररेटमा सेवा दिन असमर्थ रहेको स्पष्ट पारे ।

सेवा स्थगित भएपछि स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध सयौं सेवाग्राही प्रभावित भएका छन् । विशेषगरी दीर्घरोगी, वृद्धवृद्धा तथा आर्थिकरूपमा कमजोर वर्गका बिरामीहरू बढी प्रभावित भएका छन् । अब उनीहरूले बिमा सुविधा प्रयोग गर्न नपाउँदा निजी फार्मेसी तथा निजी प्रयोगशालाबाट पूर्ण शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता सिर्जना भएको छ ।

स्थानीय सेवाग्राहीहरूले स्वास्थ्य बिमा कार्यक्रमको मुख्य उद्देश्य सर्वसाधारणलाई सस्तो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु भए पनि सेवा नै स्थगित हुँदा विपरीत असर परेको बताएका छन् ।

प्रकाशित: २१ जेष्ठ २०८३ १६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App