विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एशियाली समितिको ७८ औं बैठकले ‘सबैको लागि स्वास्थ्य कार्यक्रम’ लागू गर्ने निर्णय गरेको छ।
श्रीलंकाको कोलोम्वोमा सम्पन्न तीन दिने बैठकले स्वस्थ बुढौलीलाई प्राथमिक स्वास्थ्य सेवा मार्फत नै सेवा प्रवाह गर्नुपर्ने विषयलाई जोड दिएको छ। सन् २०५० सम्ममा यो क्षेत्रमा ज्येष्ठ नागरिकको जनसंख्या दोब्बर हुने स्थितिलाई लक्षित गरी बैठक केन्द्रित भएको हो।
बैठकले जैविक प्रतिरोधी समस्या विश्वव्यापी रूपमा जनस्वास्थ्य चुनौतीको रूपमा देखा परेको विषयमा बैठकले छलफल गरेको छ। जैविक प्रतिरोधी समस्याले उच्च मृत्युदर बढेको, आर्थिक तथा सामाजिक भार बढेको भन्दै राष्ट्रिय स्वास्थ्य सरोकारका निकाय, बहुपक्षीय सहकार्य गर्दै सरकारले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने निर्णय गरेको छ। २०२१ को तथ्याकं अनुसार ४.७१ मृत्यु विश्वव्यापी जैविक प्रतिरोधी समस्याको कारण भएको थियो। जुन मृत्युको आधाभन्दा बढी संख्या दक्षिण–पूर्वी एशियबाट छन्।
जैविक प्रतिरोधी समस्यालाई सम्बोधन गर्न हरेक सदस्य राष्ट्रहरूले राष्ट्रिय तहमा योजना तथा कार्यक्रम क्षेत्रीय मार्गनिर्देशन अनुसार बनाउनु पर्ने निर्देशन दिएको छ। प्राकृतिक प्रकोप र जनस्वास्थ्य समस्याको पूर्वतयारीको लागि बहुपक्षीय सहकार्य र प्रतिबद्धता हुनु पर्ने बैठकमा छलफल भएको छ। विश्व स्वास्थ्य संगठनको मार्गनिर्देशन अनुसार हरेक राष्ट्रले संकट समाधानको लागि पूर्व तयारी हुनु पर्नेछ।
दक्षिण–पूर्वी एशियामा स्थापना भएको स्वास्थ्य आपतकालीन कोषमा नीति तथा व्यावसायिक नीति तय गरेको छ। यसको लागि आगामी सन् २०२६ देखि २०२७ भित्र सदस्य राष्ट्रहरूको योगदान गर्न सहमत भएका छन्। कोषको लागि सहयोगी संस्थाहरूको योगदानसहित सदस्य राष्ट्रहरूको योगदान हुनेछ। यो कोष सन् २००८ मा सुरु भए पनि सन् २०१६ मा सुरु भएको थियो।
त्यसैगरी धुवाँरहित नयाँ खालका सुर्तीजन्य पदार्थको उतपादनलाई प्रतिबन्ध लगाउन यी क्षेत्रका राष्ट्रहरूले साझा नीति तथा नियम निर्माण गरी लागु गर्नुपर्ने बैठकको निर्णय रहेको छ। यद्यपि उत्पादन, बिक्रीदेखि बजारीकरणमा समेत साझा नियम र हुनु पर्नेमा बैठकले जोड दिएको छ।
जलवायु परिवर्तनको कारण उत्पन्न रोगहरूको तथ्यंमा आधारित तथ्याकं र गुणस्तरीय सेवामा सैबको पहुँचको सुनिश्चतता गर्नु पर्ने बैठकको निष्कर्ष रहेको छ। बसाइँसराइबाट निर्मित जनसंख्यालाई सम्बोधन गर्न आर्थिक बाधाबिनाको विश्वव्यापी स्वास्थ्य व्यवस्थाको विकास गर्नु पर्नेमा सहमत भएका छन्।
प्रकाशित: ३० आश्विन २०८२ १६:३४ बिहीबार



