स्वास्थ्य

तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा

तनहुँ जिल्लाका दशवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ।

चालु आर्थिक वर्षभित्र जिल्लाका सबै पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने लक्ष्यअनुसार जिल्लाका सबै पालिकाले उक्त उपलब्धि हासिल गरेका हुन्।

आँबुखैरेनी गाउँपालिकालाई बिहीबार पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएसँगै जिल्लाका सबै पालिका पूर्णखोप सुनिश्चित भएका हुन्।

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीका अनुसार भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र ऋषिङ गाउँपालिकालाई  पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा भएका छन्।

उनका अनुसार जिल्लाका दशवटै पालिकाका ८५ वटै वडालाई यसअघि नै पूर्णखोप वडा घोषणा गरिसकिएको छ। अब केही दिनभित्रै तनहुँ जिल्लालाई नै पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिने उनले बताए।

पालिकाभित्र रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेपछि सम्बन्धित पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिने व्यवस्था रहेको छ।

स्वास्थ्य कार्यालयका अनुसार पूर्णखोप अभियानले बालबालिकालाई विभिन्न सरुवा रोगबाट सुरक्षित राख्नुका साथै समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नसमेत महत्वपूर्ण भूमिका खेलेको छ।

जिल्लाभर खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था तथा समुदायबीच सहकार्यलाई अझ सुदृढ बनाइँदै लगिने जनाइएको छ। रासस

प्रकाशित: ५ असार २०८३ १७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App