स्वास्थ्य

मोतीविन्दुको निःशुल्क शिविरबाट ८५ जनाले पाए नयाँ दृष्टि

गोरखाको आरुघाटमा गाउँपालिकास्थित आरुघाट आधारभूत अस्पतालमा सञ्चालित मोतीविन्दुुको निःशुल्क शल्यक्रिया शिविरबाट ८५ जना लाभन्वित भएका छन्।

आरुघाट गाउँपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, गोरखा लायन्स आँखा सेवा केन्द्र र आइकेयरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए।

दुईदिनसम्म सञ्चालन भएको शिविरमा आँखा जाँचका लागि आएकाहरुको आँखाको स्क्रिनिङ जाँच र शल्यक्रिया गरिएको उनले बताए।

हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा कृष्ण गुरुङको नेतृत्वमा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा उपचार सेवा प्रदान गरेका थिए।

उक्त शिविरबाट विपन्न तथा दुर्गम क्षेत्रका नागरिकलाई आफ्नै घरदैलोमा आँखाको गुणस्तरीय उपचार सेवा पु¥याउन सहज भएको गाउँपालिकाले जनाएको छ।

लामो समयदेखि आँखाको समस्या झेल्दै आएका बिरामी निःशुल्क उपचारबाट आँखा देख्नसक्ने भएपछि खुसी भएका छन्। रासस

प्रकाशित: २५ जेष्ठ २०८३ ११:२९ सोमबार