स्वास्थ्य

मुटुरोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण

जिल्लाको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा साढे चार सय जनाको परीक्षण गरिएको छ।

कुश्मा आधारभूत अस्पताल ठुलीपोखरीको आयोजना र सेभ द हार्ट तथा नेपाल कार्डियोको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा चार सय ५० जनाभन्दा बढीले परीक्षण गराएका हुन्। परीक्षण गरिएकामध्ये पाँच जनामा जटिल समस्या देखिएकाले शल्यक्रियाका लागि काठमाडौं रेफर गरिएको कुश्मा नगरपालिका–१२ वडाध्यक्ष झलक रिमालले जानकारी दिए।

आर्थिक अभावका कारण मुटुसम्बन्धी समस्या बल्झाएर बसेका ग्रामीण नागरिकको समस्यालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको शिविरमा कुश्मा, फलेवास नगरपालिका, मोदी गाउँपालिका र छिमकी जिल्ला स्याङ्जाका बिरामीसमेत सहभागी भएका थिए।

शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा डा सुमन अधिकारी, डा सुतप यादव, बोधराज गौतमलगायतको टोलीले उपचार गरेको थियो। बिरामीलाई मुटुरोगसम्बन्धी परामर्श र परीक्षण, निःशुल्क इसिजी, इको कार्डियोग्राफी र औषधिसमेत वितरण गरिएको थियो।

लाखौँ रुपैयाँ खर्च गरेर उपचार गर्नुपर्ने बिरामीले निःशुल्क सेवा पाउँदा ठूलो राहत मिलेको स्थानीय रमेश पौडेलले बताए। शिविरमा विशेषगरी विपन्न, दलित तथा वृद्धवृद्धा लाभान्वित भएका उनले बताए। रासस

प्रकाशित: २८ मंसिर २०८२ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App