स्वास्थ्य

त्रिपुराकोटमा १५ शैयाको नगर अस्पताल सञ्चालनमा

त्रिपुरासुन्दरी नगरपालिका अन्तरगत वडा नं १ कोट बगरमा पहिलो पटक १५ शैयाको अस्पताल संचालनमा आएको छ। सामान्य रोगको उपचारको लागि महंगो हवाई भाडा तिरेर नेपालगन्ज लगायतका शहरी अस्पतालमा जानु पर्ने डोल्पालीको बाध्यता अस्पताल संचालनमा आएसंगै हट्ने आशा गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिकाकी उप–प्रमुख चन्द्राकुमारी बुढाले १५ शैया अस्पतालको ब्यानर उद्घाटनसंगै अस्पतालले आफ्नो प्रारम्भिक सेवा संचालनमा ल्याएको हो। स्थानीयस्तरमा त्रिपुराकोटमा पन्ध्र शैयाको अस्पताल उद्घाटन भएसंगै नगरका दीन दुखि र आर्थिक अवस्था कमजोर भएका विपन्न गरीबहरुको लागि उपचार गर्न सहज हुने उपप्रमुख बुढाले बताइन्।आफ्नै घर आगनमा स्थापना भएको अस्पतालमा उपचार गर्न पाउने अवस्थाले आर्थिक अभावमा सामान्य रोगको उपचार गर्न नपाएर अकालमा मृत्यु वरण गर्नु पर्ने अवस्थाको अन्त्य भएको बुढाको भनाइ थियो। राज्य संघीय संरचनामा गएसंगै विस्तारै विकेन्द्रिकृत नीति अनुरुप सरकारले उपलब्ध गराउने सेवा सुविधा पनि जनताको घरआगनमा आउन थालेको र सामान्य नागरिकले पनि सरकारको सेवासुविधाको पहुँचमा पुग्ने सक्ने अवस्थाको सिर्जना भएकोले स्थानीयले आफ्नो ठाउँ र क्षेत्रको विकासको लागि सकरात्मक रचनात्मक सहयोग गर्नु पर्ने नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रितिभक्त गिरीले बताए। प्रदेश सरकारको सबै स्थानीय तहमा एक ओटा १५ शैयाको अस्पताल बनाउने नीति अनुरुप सरकारले अस्पताल संचालनको लागि उपलब्ध गराएको शैया र उपकरणहरुसहित प्रारम्भिक स्वास्थ्य सेवा अस्पतालको भवन निर्माण नहुन्जेल सम्मको लागि त्रिपुराकोट स्वास्थ्य चौकीको भवनमा संचालनमा ल्याइएको छ। यसैवीच संघीय सरकार अन्र्तगत नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट उपलब्ध हुने एक करोडको लगानीमा निर्माण गरिने नगर अस्पतालको नगर उपप्रमुख चन्द्रकुमारी बुढाले शिलान्यास समेत गरिन। नगर अस्पताल निर्माणको लागि चाहिने पाँच रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराउने त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटका मनकारी जग्गा धनी टंकप्रसाद उपाध्यायलाई अस्पताल भवन शिलान्यास कार्यक्रममा कदरपत्र सहित नगर उपप्रमुख बुढाले सम्मानित गरिन। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा उपप्रमुख नागरिक समाज त्रिपुरासुन्दरी नगरपालिकाका समाजसेवी र राष्ट्रसेवक कर्मचारीहरुको बाग्लो उपस्थिती रहेको थियो।

प्रकाशित: १५ मंसिर २०७७ ११:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App