स्वास्थ्य

प्रादेशिक अस्पतालमा सिटी स्क्यान जडान गर्न १० करोड विनियोजन

रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा लामो समयदेखि खड्किँदै आएको सिटी स्क्यान सेवाको अभाव अन्त्य गर्न मधेस प्रदेश सरकारले भवन निर्माण सहित सिटी स्क्यान जडानका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ।

मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराई ‘समीर’ले नागरिकन्युजसँग टेलिफोन मार्फत कुराकानी गर्दै यसपटक प्रदेश सरकारले प्रादेशिक अस्पताल गौरको नामै किटान गरेर सिटी स्क्यान मेसिन खरिद तथा भवन निर्माणका लागि १० करोड रुपैयाँ विनियोजन गरेको दाबी गरे। 

बजेटमा प्रादेशिक अस्पताल गौरका लागि सिटी स्क्यान मेसिन खरिद तथा भवन निर्माणसम्बन्धी कार्यक्रम समेटिएको उनको भनाइ छ। 

अर्थमन्त्री भट्टराईका अनुसार सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि गम्भीर प्रकृतिका बिरामीको परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनेछ। ‘प्रादेशिक अस्पताल गौरमै सिटी स्क्यान सेवा सञ्चालन भएपछि सर्वसाधारणले उपचारका लागि वीरगञ्ज, जनकपुर तथा सीमावर्ती भारतीय सहरसम्म धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ,’ उनले भने। 

रौतहटले मुख्यमन्त्रीसहित अर्थ र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनु जिल्लाको स्वास्थ्य क्षेत्र सुधारका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको बताए। 

मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव, अर्थमन्त्रीमा युवराज भट्टराई ‘समीर’ र स्वास्थ्य मन्त्रीमा नागेन्द्र साह छन् । एउटै जिल्लाका तीन जनाले सरकारका महत्वपूर्ण जिम्मेवारी पाएकाले रौतहटको स्वास्थ्य पूर्वाधार र सेवा सुधारमा अपेक्षा बढेको छ।

यो पनि पढ्नुहोस्

रौतहटबाट मधेस सरकारका मुख्यमन्त्रीसहित तीन मन्त्री, तर गौर अस्पतालमा छैन सीटी स्क्यानको सुविधा

तर, राजनीतिक रूपमा जिल्लाले पाएको यो अवसरको तुलनामा स्वास्थ्य सेवाको अवस्था भने अझै अपेक्षाकृत कमजोर रहेको गुनासो छ । सदरमुकाम गौरमा आधुनिक स्वरूपको अस्पताल भवन भए पनि सिटी स्क्यान  जस्तो अत्यावश्यक निदानात्मक सेवा उपलब्ध नहुँदा बिरामीले निजी अस्पताल वा जिल्ला बाहिरका स्वास्थ्य संस्थामा निर्भर हुनुपर्ने अवस्था छ। 

विशेषगरी टाउकोमा चोट, मस्तिष्कसम्बन्धी समस्या, दुर्घटना तथा अन्य जटिल अवस्थाका बिरामीका लागि सिटी स्क्यान परीक्षण महत्वपूर्ण मानिन्छ। सरकारी अस्पतालमै यस्तो सेवा नहुँदा आर्थिक रूपमा कमजोर परिवारसमेत अतिरिक्त खर्च व्यहोरेर बाहिर जान बाध्य हुँदै आएका छन्। 

प्रादेशिक अस्पताल गौरमा भवनसहित सिटी स्क्यान सेवा सञ्चालन गर्ने योजना कार्यान्वयनमा आए रौतहटको सरकारी स्वास्थ्य सेवामा महत्वपूर्ण पूर्वाधार थपिने अपेक्षा गरिएको चिकित्सकहरुको भनाइ छ। 

बजेट विनियोजनसँगै मेसिन खरिद, भवन निर्माण, जडान, दक्ष जनशक्ति व्यवस्थापन र नियमित सञ्चालनलाई प्रभावकारी बनाउन सके मात्रै यसको वास्तविक लाभ जिल्लाका नागरिकले पाउने नागरिक समाजका बिजय किशोर झाको कथन छ। 

स्वास्थ्य क्षेत्रमा लामो समयदेखि देखिँदै आएको पूर्वाधार र विशेषज्ञ जनशक्तिको अभावलाई क्रमशः सम्बोधन गर्दै सरकारी अस्पतालको सेवा विस्तार गर्नुपर्ने माग पनि स्थानीयस्तरमा उठ्दै आएको छ। 

प्रकाशित: ९ भाद्र २०८३ १३:३२ मंगलबार