भोटेकोसी बाढीका कारण नियमित परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले छुट्टै परीक्षा सञ्चालन गर्ने भएको छ।
त्रिविको रजिस्ट्रार कार्यालयले बिहीबार सूचना जारी गर्दै बाढी प्रभावित विद्यार्थीलाई लक्षित गरी असोजको दोस्रो साताभित्र छुट्टै परीक्षा सञ्चालन गर्ने जनाएको हो।
बाढीका कारण घाइते भएका, काजकिरियामा बस्नुपर्ने अवस्था आएका तथा घरबारविहीन भएका विद्यार्थीले यस्तो परीक्षामा सहभागी हुन पाउनेछन्। त्यसका लागि सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य गरिएको त्रिविले जनाएको छ।
छुट्टै परीक्षा तोकिएका परीक्षा केन्द्रमा मात्रै सञ्चालन हुनेछ। नियमित परीक्षाको संशोधित तालिकामा सहभागी हुन नसक्ने बाढी प्रभावित विद्यार्थीलाई लक्षित गरी यो व्यवस्था गरिएको हो।
यसअघि भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण त्रिविले निर्धारित परीक्षा स्थगित गरेको थियो। बाढी प्रभावित क्षेत्रमा अवस्था क्रमशः सामान्य बन्दै गएपछि त्रिविले परीक्षा सञ्चालनका लागि संशोधित तालिका सार्वजनिक गरिसकेको छ।
तर, विपद्का कारण संशोधित तालिकाअनुसार समेत परीक्षा दिन नसक्ने विद्यार्थीको शैक्षिक वर्ष प्रभावित नहोस् भन्ने उद्देश्यले त्रिविले छुट्टै परीक्षा लिन लागेको हो।
त्रिविको यो निर्णयले बाढीका कारण पढाइसँगै परीक्षासमेत प्रभावित भएका विद्यार्थीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १८ भाद्र २०८३ २०:१४ बिहीबार