विद्यार्थीलाई अनुशासनको पाठ सिकाउने (त्रिवि) का गुरुहरूले आफूले पाउने अध्ययन बिदा दुरुपयोग गरेको सुन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ। पछिल्लो समय त्रिविका प्राध्यापकहरू आफूले पाउने अध्ययन बिदा सुविधा लिएर बिदेसिएपछि त्रिविमा नफर्कनेको संख्या धेरै देखिन थालेपछि विश्वविद्यालयले एक समिति बनाएर छानबिन थालेको थियो।
त्रिवि उपप्राध्यापक डा. जीवन काफ्लेको संयोजकत्वमा समिति गठन गरी अध्ययन बिदा बसेर नफर्किएका शिक्षक/कर्मचारीहरूको खोजबिन सुरु गरेको थियो। त्रिविले आफ्ना शिक्षक कर्मचारीको क्षमता अभिवृद्धि गर्न अध्ययन बिदा दिने सुविधा त्रिवि शिक्षक कर्मचारीसम्बन्धी ऐनमै व्यवस्था गरिएको छ।
यही व्यवस्थाअनुसार त्रिविले शिक्षक कर्मचारीलाई सुविधासहितको अध्ययन बिदा दिने गरेको छ, तर खोजबिन समितिका संयोजक डा. काफ्लेका अनुसार अध्ययनका क्रममा हालसम्म समितिले तयार पारेको प्रतिवेदनअनुसार कुल तीन सय ९८ प्राध्यापकले आफूले पाएको बिदा सुविधा दुरुपयोग गरिएको प्रमाण फेला परेको छ; जसमध्ये एक सय ९१ प्राध्यापक अध्ययन बिदा लिएर विदेशमा पढाइ पूरा गरी विदेशमै बसेका छन्। उनीहरू अझैसम्म त्रिवि कार्यालयमा फर्किएका छैनन् भने बिदा लिएर अध्ययन पूरा गर्नेहरू २०७ जना छन्’, संयोजक डा. काफ्लेले भने, ‘नफर्किएका एक सय ९१ मध्ये १९ जनाले ६ करोड रुपैयाँ त्रिविलाई फिर्ता गरेका छन्। ४६ जना बिदेसिएका प्राध्यापकहरू सम्पर्कमा आएर रकम फिर्ता गर्न निवेदन दिएका छन्।’
उनका अनुसार त्रिविका प्राध्यापकको बिदा दुरुपयोगका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले समेत समिति संयोजकको हैसियतले मलाई बोलाएर निकै चासोका साथ छलफल गर्नुभयो। उहाँहरूले फिर्ता लिनुपर्ने रकम छिटै फिर्ता गराउन र कारबाही गर्नुपर्ने भए त्यो पनि छिटो टुंग्याउनु भन्नुभएको छ।
समितिले असार मसान्तसम्म रकम फिर्ता गर्ने र नगर्ने तथा कारबाहीमा परेका सबै प्राध्यापकको सूची त्रिवि कार्यकारीमा बुझाइने छ। ‘सबै रकम असुली हुने हो भने करिब दुई अर्ब असुली हुन्छ। त्रिवि शिक्षक कर्मचारी नियमअनुसार ९० दिनसम्म लगातार विनासूचना शिक्षक वा कर्मचारी कार्यालयमा अनुपस्थित रहे पदबाट हटाउन वा बर्खास्त गर्ने व्यवस्था छ’, उनले भने, ‘सोही नियममा बढीमा पाँच वर्षसम्म अध्ययन बिदा दिने र उनीहरू फर्किएर त्रिविमा पाँच वर्ष काम गर्नुपर्ने व्यवस्था छ। तीन वर्षको बिदा उपयोग गरेको छ भने त्रिविमा फर्केर तीन वर्ष काम गर्नुपर्ने व्यवस्था छ तर प्राध्यापकहरूले नै बिदा दुरुपयोग गरेको देखियो।’
समितिले थप अध्ययन गरिरहेको र यो संख्या अझ बढ्न सक्ने उनले बताए। अध्ययनअनुसार प्राध्यापकहरू अध्ययन बिदा लिएर प्रायः अमेरिका, बेलायत, क्यानाडा, युरोपेली देशहरूमा गएको र अध्ययन पूरा गरेर परिवारसहित उतै बसेका छन्।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले हालसम्म त्रिविलाई बिदा दुरुपयोगवापत ६ करोड रकम प्राप्त भएको बताए। उनले उक्त रकम विश्वविद्यालयको पेन्सन कोषमा दाखिला गरिएको समेत जनाए। खोजबिन समितिले बुझाएको अध्ययन प्रतिवेदन थप अध्ययनपछि भेरिफाइ गरी सार्वजनिक गर्नेसमेत उनले जनाए।
‘४६ जना प्राध्यापकहरू आफूले बिदा लिएर अध्ययन पूरा गरेवापतको रकम त्रिविमा फिर्ता गर्छु भनी निवेदन नै दिनुभएको छ’, उपकुलपति प्राडा अर्यालले नागरिकसँग भने, ‘केही शिक्षकको हकमा अध्ययन पूरा गरे पनि डिग्री हासिल नगरेकाले रकम कति फिर्ता गराउनेबारे हिसाबकिताबको अध्ययन भइरहेकाले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको हो।’
उनका अनुसार सरकारले त्रिविका शिक्षक कर्मचारीलाई पेन्सदन दिँदैन। त्रिवि आफैंले व्यवस्थापन गर्नुपर्छ। बिदा दुरुपयोगबाट करिब दुई अर्ब रकम असुली हुन्छ। यसलाई त्रिवि पेन्सन कोष र केही रकम पूर्वाधार विकासमा त्रिविले प्रयोग गर्छ।
प्रकाशित: २७ चैत्र २०८२ ०८:१६ शुक्रबार



