देशकै ठुलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि) आफ्नै जग्गा संरक्षण गर्न असफल देखिएको छ। विश्वविद्यालयका लागि सरकारले अधिग्रहण गरेको हजारौं रोपनी जग्गामध्ये आधाजति विभिन्न निकाय, संघसंस्था र व्यक्तिले उपभोग गरिरहेका छन्। अरूले उपभोग गरिरहेको जग्गा फिर्ता ल्याउने त्रिविको प्रयास अझै सफल हुन नसकेको हो।
विश्वविद्यालयका पदाधिकारीकै निष्क्रियता, राजनीतिक पहुँच र सरकारी निकायबिचको समन्वय अभावमा त्रिविको जग्गा उपभोग विवाद वर्षौंदेखि समाधान हुन सकेको छैन। त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनले त्रिविका नाममा रहेको ५ हजार २१८ रोपनी जग्गामध्ये २ हजार ५३९ रोपनी अतिक्रमण/दुरुपयोग भएको औंल्याएको छ। यसबाट विश्वविद्यालयका नाममा रहेको जग्गामध्ये झन्डै आधा उसको उपभोग र नियन्त्रणबाहिर पुगेको स्पष्ट हुन्छ।
नियन्त्रणबाहिर गएको जग्गा फिर्ता ल्याउने विषयमा सरकार र विश्वविद्यालयले पटकपटक गरेका घोषणाअनुसार काम हुन सकेको छैन। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकाभित्र रहेको त्रिविको अतिक्रमित जग्गामध्ये ७०५ रोपनी फिर्ता ल्याइएको दाबी गरेका छन् तर त्रिविकै विद्यार्थी, कर्मचारी र प्राध्यापकले उक्त दाबीको खण्डन गर्दै अरूले अतिक्रमण गरी उपभोग गर्दै आएको जग्गामध्ये एक रोपनीसमेत औपचारिक रूपमा विश्वविद्यालयलाई हस्तान्तरण नगरेको बताएका छन्।
त्रिवि स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष दीपकराज जोशीका अनुसार शिक्षामन्त्री पोखरेलले सामाजिक सञ्जालमा ७०५ रोपनी जग्गा फिर्ता भएको भन्दै सस्तो प्रचार गरेका हुन्। ‘शिक्षामन्त्रीज्यूलाई सस्तो प्रचारबाजीभन्दा माथि उठेर तथ्यांकसहित जवाफ दिन आग्रह गर्छु,’ अध्यक्ष जोशीले भने, ‘कुनकुन स्थानको कति जग्गा फिर्ता भयो ? कति अझै अतिक्रमणमा छ ? बाँकी जग्गा फिर्ता गर्न के कस्ता कदम चालिँदै छन् ? उहाँले प्रस्ट पार्नुपर्छ।’
त्रिविले आफ्नो करिब २५ सय रोपनी अतिक्रमित जग्गा फिर्ता वा खाली गर्न सरोकारवाला पक्षलाई गत वैशाख ३ गते ३५ दिने सूचना जारी गरेको थियो। सूचना जारी भएको सात महिना बितिसक्दा पनि त्रिविले कति जग्गा फिर्ता वा खाली भयो भन्ने स्पष्ट विवरण सार्वजनिक नगरेको र प्रभावकारी कारबाही पनि अघि बढाउन नसकेको जोशीको दाबी छ।
‘हामीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम २०८३/८४ मा सम्पत्ति खोजी, संरक्षण र अभिलेखीकरणका लागि डिजिटल प्रणाली निर्माण तथा कार्यान्वयनको विषय समावेश गराएका छौं,’ अध्यक्ष जोशीले भने, ‘उपत्यका तथा बाहिरका आंगिक क्याम्पसका जग्गा संरक्षण गर्न तारबार र व्यवस्थित अभिलेखीकरणको माग निरन्तर गर्दै आएका छौं।’
सरकारले २०१३ र २०३० सालमा त्रिविका लागि अधिग्रहण गरेको पाँच हजार २१८ रोपनी जग्गामध्ये दुई हजार ५३९ रोपनी अतिक्रमण/दुरुपयोगमा परेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा २०८१ जेठमा गठन भएको समितिले त्रिविको जग्गा खोजबिन गरी प्रतिवेदन बुझाएको थियो। त्रिताल बिरामी भएपछि सरकारका पूर्वसहसचिव महेन्द्रबहादुर थापाले समितिको नेतृत्व गरी २०८१ मंसिर २६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएका थिए। उक्त प्रतिवेदन २०८२ असोजमा मात्र सरकारले सार्वजनिक गरेको थियो।
प्रतिवेदनअनुसार कीर्तिपुरस्थित त्रिवि केन्द्रीय परिसरभित्र मात्रै १ हजार ८४३ रोपनी जग्गा अतिक्रमण वा दुरुपयोग भएको छ। केन्द्रीय परिसरबाहिरको ६९६ रोपनी जग्गा विवादमा परेको छ। केन्द्रीय क्याम्पस क्षेत्रभित्रको ८४३ रोपनी जग्गा २१ वटा संस्था तथा समूहले प्रयोग गरिरहेको प्रतिवेदनमा उल्लेख छ।
विश्वविद्यालयको शैक्षिक, प्रशासनिक र अनुसन्धान विस्तारका लागि आवश्यक पर्ने जग्गा वर्षौंदेखि दुरुपयोग हुनु गम्भीर अवस्था हो।
जग्गा खोजबिन समितिले त्रिविको जग्गा दुरुपयोगमा बाह्य संस्था मात्र नभई विश्वविद्यालयभित्रकै संघसंगठन पनि सक्रिय रहेको औंल्याएको छ। त्रिवि प्राध्यापक संघ र कर्मचारी संघले विश्वविद्यालयको जग्गा तेस्रो पक्षलाई व्यावसायिक प्रयोजनका लागि जग्गा भाडामा दिएको पाइएको छ। पेट्रोल पम्प, होटल तथा अन्य व्यावसायिक गतिविधि विश्वविद्यालयको जग्गामा सञ्चालन भइरहेका छन्।
त्रिविको जग्गा दुरुपयोग/अतिक्रमण/उपभोग गर्ने संघसंस्थाहरूको सूची लामो छ। जसमा ल्बोरेटरी माध्यमिक विद्यालय (ल्याब स्कुल), बिपी कोइराला मेमोरियल प्लानेटेरियम, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल नेत्रज्योति संघ, रेडक्रससँग सम्बन्धित संस्था, विभिन्न धार्मिक तथा सामाजिक संस्था र सरकारी निकाय समेत छन्।
ल्याब स्कुलले त्रिविको १०८ रोपनी जग्गा निःशुल्क उपभोग गरिरहेको प्रतिवेदनमा उल्लेख छ। विद्यालयले जग्गा खाली गर्न नसकिने भन्दै विद्यालयलाई त्रिविको व्यवस्थापनमा सञ्चालन गर्न वा जग्गा भाडामा दिन प्रस्ताव गरेको छ।
त्रिविले १७ वटा संघसंस्था तथा निकायलाई जग्गा खाली गर्न पत्राचार गरेको थियो। तर समयसीमा सकिँदासमेत कतिले फिर्ता गरे यकिन तथ्यांक छैन।
त्रिवि रजिस्ट्रार कार्यालयका अनुसार केही संघसंस्थाले जग्गा छाड्न गर्न तयार रहेको जनाउँदै पत्राचार गरेका छन्। यही पत्राचारलाई नै जग्गा हस्तान्तरण भएको मान्न नमिल्ने विश्वविद्यालयका कर्मचारीहरूको भनाइ छ।
त्रिविका रजिष्ट्रार रविन्द्र शिवाकोटीका अनुसार गत वैशाखमा जग्गा फिर्तासम्बन्धी ३५ दिने सूचना जारी भएपछि सम्बन्धित संस्थाले त्रिवि प्रशासनमा जग्गा फिर्ता लिएर उपयोग गर्न पत्राचार गरेका छन्। शिवाकोटीले जग्गा फिर्ता व्यक्तिगत तबरमा नभएर प्रक्रियागत रुपमा हुनुपर्ने बताए। ‘कुनै व्यक्तिको जग्गा फर्ता भएको भए पर्खाल लगाउने वा तारवारले घेर्ने कार्य हुन्थ्यो। तर त्रिविको जग्गा त त्रिविकै नाममा छ,’ उनले भने, ‘त्रिविले जग्गा खाली गर्न सार्वजनिक सूचना जारीसहित पत्राचार गरेपछि केहीले फिर्ता लिन, केहीले सम्झौता नवीकरण गर्न र केहीले नयाँ सम्झौता गर्न विश्वविद्यालयलाई पत्राचार गरेका छन्। सम्बन्धित संस्थाले आफैं व्यवस्थापन गरी फिर्ता गर्न सक्ने भएकाले यसमा कुनै द्विविधा छैन। क्रिकेट रंगशाला प्रयोग सम्बन्धनमा अब पाँच वर्षका लागि मात्र समझौता हुन्छ र यसको नामकरण त्रिवि क्रिकेट रंगशाला हुन्छ।’
उनले नेपाल प्राध्यापक संघ र कर्मचारी संघले सञ्चालन गर्दै आएको अतिथिगृह अब त्रिवि अथिति गृहका रुपमा त्रिवि प्रशासनले सञ्चालन गर्ने तयारी अगाडि बढेको जानकारी दिए। ल्याबोरेटरी माध्यमिक विद्यालयलाई अब त्रिवि शिक्षाशास्त्र संकायको शिक्षण स्कुलका रुपमा स्थापित गरिने उनले बताए। उनका अनुसार अरुले उपभोग गर्दै आएको त्रिवि केन्द्रीय परिसरको ७७८ रोपनी जग्गा अब शैक्षिक र प्राज्ञिक प्रयोजनमा लगाउने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार विश्वविद्यालयको जग्गा प्रयोग गर्ने संस्थाहरूको सूची लामो छ। बिपी कोइराला मेमोरियल प्लानेटोरियमले १५० रोपनी, कृषि बागवानीले २८१ रोपनीभन्दा बढी, खानेपानी संस्थानले १८ रोपनी र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले २४ रोपनी जग्गा प्रयोग गरिरहेका छन्।
त्यस्तै ल्याबोरेटरी माध्यमिक विद्यालयले १०८ रोपनीभन्दा बढी, आयुर्वेद अनुसन्धान केन्द्रले ३० रोपनी, महानगरीय प्रहरी वृत्तले चार रोपनी, महानगरीय प्रहरी वृत्त कालीमाटीले एक रोपनी र राधास्वामी सत्संगले १३ रोपनी त्रिविको जग्गा उपयोग गरिरहेका छन्।
त्रिवि कर्मचारी संघले पाँच रोपनीभन्दा बढी, त्रिवि प्राध्यापक संघले आठ रोपनी र नेपाल प्राध्यापक संघले १३ रोपनी पाँच आना तीन पैसा तीन दाम जग्गा प्रयोग गरिरहेको प्रतिवेदनमा उल्लेख छ।
नेपाल बैंक लिमिटेडले पार्किङ क्षेत्रसहित ५ हजार ५७९.१३ वर्गफिट, ग्लोबल आइएमई बैंकले एक हजार वर्गफिट, नेपाल नेत्रज्योति संघले १० रोपनी र रक्तसञ्चार केन्द्रले तीन रोपनी जग्गा प्रयोग गरिरहेका छन्।
यसैगरी युनाइटेड विल्डर्स एन्ड इन्जिनियर्सले १० रोपनी १३ आना तीन पैसा, नेपाल क्रिकेट संघ (क्यान) ले करिब ७८ रोपनी जग्गा प्रयोग गरिरहेका छन्। क्यानले प्रयोग गरेको जग्गा सम्बन्धमा त्रिवि र राष्ट्रिय खेलकुद परिषद् नयाँ सम्झौताको क्रममा रहेको जानकारी शिवाकोटीले दिए।
प्रकाशित: ११ मंसिर २०८३ ०८:४१ शुक्रबार

-600x400.jpg)

