शिक्षा

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविले माग्यो ‘कन्ट्री फोकल पर्सन’

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।

विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र (CIR) ले हालै स्वीकृत ‘त्रिविको अन्तर्राष्ट्रियकरणसम्बन्धी निर्देशिका, २०२६’ अनुसार इच्छुक स्थायी प्राध्यापकहरूबाट आशयपत्र माग गरेको हो।

उपकुलपतिबाट नियुक्त हुने यस स्वयंसेवी तथा मानार्थ पदको कार्यकाल सुरुमा दुई वर्षको हुनेछ। नियुक्त व्यक्तिले सम्बन्धित देशका विश्वविद्यालयसँग भएका पुराना सम्झौता (MoU) सक्रिय बनाउने, संयुक्त अनुसन्धान तथा विद्यार्थी–प्राध्यापक आदानप्रदान प्रवर्द्धन गर्ने, अनुसन्धानका लागि आर्थिक स्रोत खोज्ने र विदेशी विद्यार्थीलाई त्रिविमा आकर्षित गर्न सहजीकरण गर्नुपर्नेछ।

इच्छुक स्थायी प्राध्यापकहरूले आगामी मंसिर १० गते (२५ नोभेम्बर २०२६) भित्र अनलाइन गुगल फारममार्फत आवेदन दिन सक्ने त्रिविले जनाएको छ। आवेदनका साथमा आफ्नो अन्तर्राष्ट्रिय अनुभव, व्यक्तिगत विवरण (CV) र आगामी दुई वर्षको ठोस कार्ययोजना पेस गर्नुपर्नेछ।

प्राप्त आवेदकहरूमध्ये अन्तर्राष्ट्रिय अनुभव, सम्बन्धित देशसँगको पूर्वसम्पर्क र सहकार्य विस्तार गर्न सक्ने क्षमताका आधारमा छनोट गरिने त्रिविले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८३ ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App