म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुपर्ने बाध्यता हटेको छ।
चारकोठे नयाँ भवन निर्माण भएपछि तीन दशक पुरानो पानी चुहिने, पर्खाल चिरा परेको र भत्कने अवस्थामा रहेको जोखिमयुक्त भवनमा बसेर पठनपाठन गर्नुपर्ने विद्यार्थी शिक्षकको समस्या हटेको हो।
कक्षाकोठा भवन बनेपछि सुरक्षित वातावरणमा सहज रूपमा पठनपाठन हुन थालेको विद्यालयका प्रधानाध्यपक मैयाकुमारी बरुवालले बताइन्। “यसअघि कक्षाकोठा भवन जीर्ण हुँदा डरत्रास थियो”, उनले भनिन्, “सुरक्षित भवन बनेपछि सुरक्षित भएर ढुक्कसँग पठनपाठन गर्ने वातावरण सिर्जना भएको छ।”
कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा हाल २२ विद्यार्थी छन्। अन्नपूर्ण गाउँपालिका र जर्मनको हिमालय ‘फ्रेण्ड्स इभी’ को आर्थिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर चारकोठे कक्षाकोठा भवन बनाएका हुन्। कक्षाकोठाको साथै शौचालय पनि निर्माण भएको छ।
अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा २० लाख र चालु आर्थिक वर्षमा पाँच लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको उक्त भवन निर्माणका लागि जर्मन संस्थाले एक लाख ४९ हजार रूपैयाँ सहयोग गरेको वडाध्यक्ष रामबहादुर खड्काले बताए।
प्रकाशित: १४ चैत्र २०८२ १०:४५ शनिबार