त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शिक्षक तथा कर्मचारीलाई व्यावसायिक दक्षता अभिवृद्धि गर्न प्रविधिमैत्री तालिम दिने भएको छ।
विश्वविद्यालयमा पुराना शिक्षक र कर्मचारी धेरै भएकाले उनीहरूलाई प्रविधिमैत्री बनाउन तालित दिने भएको हो।
त्रिवि शिक्षाध्यक्ष अन्जना सिंहका अनुसार विश्वविद्यालयमा सुशासन कायम गर्न र शिक्षक–कर्मचारीलाई प्रविधिमैत्री बनाउन नयाँ तरिकाले तालिम उपलब्ध गराउन लागिएको छ। तालिमका लागि त्रिविले चालु आर्थिक वर्षका लागि एक करोड २५ लाख रुपैयाँ छुट्याएको जानकारी उनले दिइन्। पहिलो चरणमा विश्वविद्यालयका ७७५ शिक्षक–कर्मचारीलाई यस्तो तालिम दिइने छ। ‘विश्वविद्यालयका ७७५ शिक्षक तथा कर्मचारीलाई विभिन्न नौ शीर्षकमा सेवाकालीन तथा सेवाप्रवेश तालिम सञ्चालन गर्न बजेट स्वीकृत गरिएको छ,’ शिक्षाध्यक्ष सिंहले भनिन्, ‘त्रिविले शिक्षक तथा कर्मचारीको व्यावसायिक दक्षता बढाउन, प्रविधिको माध्यमबाट प्रशासनिक सेवा प्रवाहमा सुधार गर्न र संस्थागत उत्पादकत्व वृद्धि गर्ने तालिमको व्यवस्था गर्न लागेको हो।’
त्रिवि समन्वय महाशाखाद्वारा आयोजित जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले आर्थिक वर्ष २०८३/८४ को कार्यक्रम तथा बजेट पारित गरेको हो। कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा शिक्षाध्यक्ष सिंहको अध्यक्षतामा बसेको बैठकले विश्वविद्यालयको जनशक्तिको क्षमता विकास र संस्थागत उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ।
स्वीकृत कार्यक्रमअनुसार विश्वविद्यालय सेवामा प्रवेश गर्ने शिक्षक तथा कर्मचारीलाई संगठनात्मक संरचना, कार्यप्रणाली, आचारसंहिता, अधिकार र कर्तव्यबारे अभिमुखीकरण गरिनेछ। प्रशासनिक कर्मचारीका लागि आवश्यकता पहिचानमा आधारित क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने कार्यक्रम पनि तय गरिएको छ।
तालिमबाट पदाधिकारी, क्याम्पस प्रमुख, विभागीय प्रमुख तथा प्रशासनिक नेतृत्वको व्यवस्थापकीय क्षमता विकास गरिनेछ। कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रविधि प्रणाली र कार्यालय सञ्चालनसम्बन्धी दक्षता अभिवृद्धि गर्न तालिम, कार्यशाला तथा गोष्ठी सञ्चालन ढाँचा तयार गरिएको त्रिविले जनाएको छ। परिषद अध्यक्ष एवं शिक्षाध्यक्ष सिंहले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीलाई थप दक्ष र प्रभावकारी बनाउँदै संस्थागत उत्पादकत्व बढाउन र शैक्षिक गुणस्तर कायम गर्न पनि तालिम आवश्यक परेको बताइन्।
त्रिवि रजिस्ट्रार एवं परिषद् उपाध्यक्ष रविन्द्र शिवाकोटीले जनशक्तिलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउने विषयमा स्रोतसाधनको कमी हुन नदिने दाबी गरे। ‘आगामी दिनमा त्रिविमा ९ सय उपप्राध्यापक र ७ सय कर्मचारी प्रवेश गर्दैछन्। रजिष्ट्रार शिवाकोटीले भने, ‘त्रिविको शासकीय सुधारको लागि पनि यो तालिम अति आवश्यक। त्रिविको शाकसीय सुधारका लागि कुनै पनी स्रोतको कमी हुन दिने छैनौं। तालिमको मुख्य लक्ष्य शासकीय सुधार हो।’
त्रिवि समन्वय महाशाखा प्रमुख एवं परिषद्का सदस्यसचिव दीपक तिवारीले ‘दक्ष जनशक्ति, सक्षम कार्यालय, गुणस्तरीय सेवा, प्रतिस्पर्धी एवं उत्कृष्ट विश्वविद्यालय’ भन्ने मूल भावका साथ वर्षैभरि तालिम, कार्यशाला र गोष्ठी सञ्चालन गरिने बताए। उनका अनुसार सुशासन, कार्यालय व्यवस्थापन, समयानुकूल वृत्ति विकास र उपलब्ध स्रोतसाधनको अधिकतम सदुपयोगमा कार्यक्रम केन्द्रित हुनेछ।
प्रकाशित: १६ कार्तिक २०८३ ०९:३९ सोमबार