शिक्षा

विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउन प्रविधि प्रदर्शनी

‘सिकाइका लागि रोबोटिक्स’ भन्ने नारासहित मंगलबार भक्तपुरमा प्रविधि प्रदर्शनी सम्पन्न भएको छ । विद्यार्थीहरूमा व्यवहारिक सिकाइ र सिर्जनशीलता प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी गरेको जनाइएको छ ।  

सिकाइ अब पाठ्यपुस्तकमा मात्र होइन, प्रयोगशालामा जन्मिन्छ; विचार अब रटाइमा होइन, सृजनामा परिपक्व हुन्छ भन्ने भावका साथ प्रदर्शनीको आयोजना गरेको आयोजक एभरेष्ट स्कुलले जनाएको छ ।

आजको युग विज्ञान र प्रविधिबाट निर्देशित रहेको उल्लेख गर्दै विद्यालयले विद्यार्थीहरूलाई पुस्तकमा सीमित नभई प्रयोग र नवप्रवर्तनतर्फ उन्मुख बनाउन यस्ता कार्यक्रमको आयोजना गर्दै आएको जनाएको छ । कम्प्युटर, इन्टरनेट, कृत्रिम बौद्धिकता (एआई) र रोबोटिक्सजस्ता प्रविधिको प्रयोगले शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको सन्दर्भमा विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक मोडेलहरू प्रदर्शन गरेका थिए ।

प्रदर्शनीमा कक्षा २, ३ र ८ का विद्यार्थीहरूले दैनिक जीवनसँग सम्बन्धित यन्त्र र आधुनिक  मोडेलहरू प्रस्तुत गरे । विद्यार्थीहरूले देखाएका ती यन्त्रहरू केवल प्रदर्शनका वस्तु नभई नेपालको भविष्यको प्रविधिमुखी झलक रहेको आभास मिलेको थियो ।

अभिभावकहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ उत्साहजनक बनाएको थियो । उनीहरूले विद्यार्थीहरूको सिर्जनशीलता, व्यवहारिक ज्ञान र आत्मविश्वासप्रति प्रसंसा व्यक्त गरेका थिए ।

कार्यक्रमको उदघाटन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विज्ञान र प्रविधिबिना राष्ट्रको विकास सम्भव नहुने उल्लेख गर्दै कृत्रिम बौद्धिकताको प्रयोग र महत्वबारे प्रकाश पारे । प्रदर्शनीमा ४० वटा रोबोटिक्स सम्बन्धी सामाग्रीहरू प्रदर्शन गरिएको थियो ।

यसैबीच विज्ञान पढेर होइन, गरेर सिकिन्छ भन्ने अभियानलाई जीवन्त बनाउँदै स्कुलले विज्ञान तथा प्रविधि सम्बन्धी विशेष कारखाना प्रदर्शनी सम्पन्न गरेको छ ।

प्रदर्शनीमा कक्षा ४ र ५ का विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक मोडेलहरू र दैनिक जीवनसँग सम्बन्धित यन्त्रहरू प्रस्तुत गरे । सौर्य प्रणालीका मोडेल, सौर्य ऊर्जाबाट चल्ने उपकरण र विभिन्न सरल यन्त्रहरू प्रदर्शनीका मुख्य आकर्षण थिए ।

 

प्रकाशित: २६ कार्तिक २०८२ १९:२९ बुधबार