नेपालमा अध्ययन भिसामा प्रवेश गरेका केही विदेशी नागरिकहरूले भिसा उद्देश्य विपरीत बस्ने गतिविधि गरेको पाइएको भन्दै अध्यागमन विभागले विशेष निगरानी अघि बढाएको छ ।
अध्यागमन विभागका निर्देशक एवं सूचना अधिकारी टीकाराम ढकालका अनुसार, अध्ययन भिसामा नेपाल आएका विदेशी नागरिकहरूले केही कानुन उल्लङ्घन गर्ने गतिविधिमा संलग्न रहेको र अध्ययन भिसाका लागि सिफारिससमेत पाएको खुल्न आएको छ ।
त्यसैगरी, केही विदेशी नागरिकहरूले नियमित कक्षामा सहभागी नभएको, अध्ययन भिसाको अवधि थप गर्न नक्कली कागजात पेश गरेको र कोर्स पूरा भए पनि शैक्षिक प्रमाणपत्र पेश नगरेको तथ्यसमेत पाइएको ढकालले जारी गरेको सूचनामा उल्लेख छ ।
अध्यागमन विभागले शैक्षिक संस्थाहरुलाई त्यस्ता व्यक्तिहरूलाई अध्ययन भिसाका लागि सिफारिस नगर्न स्पष्ट निर्देशन जारी गरेको छ । साथै, केही विदेशी नागरिक गैरकानूनी गतिविधिमा समेत संलग्न पाइएपछि त्यसको सूचना प्रहरी तथा स्थानीय निकायहरूमा दिन समेत अनुरोध गरिएको छ ।
विदेशी नागरिकलाई अध्ययन गराउने शैक्षिक संस्था र उनीहरूको गतिविधि अनुगमन गर्न शिक्षा मन्त्रालय तथा ७७ वटै जिल्ला अनुगमन समितिलाई पनि जिम्मेवारी दिएको छ ।
प्रकाशित: १० मंसिर २०८२ १६:५९ बुधबार