‘शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसाँस्कृतिक, आवासीय समृद्ध सहर’ धरान उपमहानगरपालिकाको पहिचान बोकेको यो नाराले शिक्षालाई पहिलो प्राथमिकतामै राख्छ। तर, यही नाराको सहर धरानका दुई सामुदायिक विद्यालयमा लामो समयदेखि शिक्षक छैनन्। शिक्षक नहुँदा पढाइ रोकिएपछि आफ्नो पढ्न पाउने अधिकारका लागि विद्यार्थीहरू सडकमा होइन, नगरप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेर आमरण अनशन बस्नुपर्ने अवस्थामा पुगेकोमा शुक्रबार मध्यरात सहमति भएको छ।
धरान वडा नं. ६ को सरस्वती माध्यमिक विद्यालय र वडा नं. ११ को ज्ञानोदय माध्यमिक विद्यालयका विद्यार्थीहरू शिक्षक नपाएपछि अनसनमा बसेका विद्यार्थी र धरान उपमहानगरपालिकाबिच सहमति भएको हो। शुक्रबार दिउँसै प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईको पहलमा विद्यार्थीका माग पूरा गरेतापनि विद्यार्थीहरूले कार्यबाहक मेयर आइन्द्रविक्रम बेघा नै विद्यार्थीसमक्ष आउनुपर्ने अडानले आन्दोलन जारी राखेका थिए। साँझपख बाल सञ्जालमा रहेका रोजन शंकरले विषादी पिएपछि विद्यार्थीहरूले उग्र रुपमा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले कार्यबाहक मेयर बेघाको पुत्ला समेत दहन गरेका थिए।
घटनालाई साम्य पार्न राति भएको वार्तापछि बिरामीको उपचार गर्ने र तत्काल शिक्षक नियुक्त गर्न प्रक्रिया अघि बढाउने सहमति भएको छ। सहमतिलगतै कार्यबाहक मेयर बेघाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा) पुगेर राति नै बिरामी विद्यार्थीसमक्ष भेटघाट गरेका छन्।
घटनाक्रम अनुसार सरस्वती माध्यमिक विद्यालयमा माघ २१ गतेदेखि माध्यमिक तह सामाजिक विषयका शिक्षक छैनन्। ‘हाम्रो विद्यालयमा माघ २० गते माध्यमिक तहमा सामाजिक पढाउने गंगाप्रसाद धमला रिटायर्ड भएपनि त्यो विषय नै पढाइ हुँदैन,’ कक्षा ९ मा अध्ययनरत निर्जल भण्डारीले भने, ‘पटक पटक उपमहानगरपालिका आएर भन्दा पनि कहिले सुनुवाइ नभएपछि अनशन बस्न बाध्य भयौं।’
उनका अनुसार अहिले कक्षा ९ कै सेक्सन ‘ए’ मा सामाजिक विषय पढाइ हुन्छ। तर, सेक्सन ‘बी’ मा पढाइ हुँदैन।
‘अघिल्लो वर्ष शैक्षिक सत्रको अन्तिम अन्तिमतिर हुँदा पढाइ नभएपनि जसोतसो धेरैले पास गरे,’ उनले भने, ‘यो शैक्षिक सत्रमा त पढाइ नै नभएपछि हामीले कसरी पास गर्नु?’ कक्षा १० को सेक्सन ‘बी’ मा अध्ययनरत विवेक लिम्बुले अहिलेसम्म सामाजिक विषय पढाइ नहुँदा एसइईमै कमजोर नम्बर आउने हुँदा प्रधानाध्यापक र उपमहानगरपालिकामा अरु साथीहरू आएर ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएकाले गर्दा कि वार कि त पार गर्न आन्दोलन गरेको बताए।
‘कक्षा १० को सेक्सन ए मा चाँहि अर्को सरले पढाउने गरेपछि त्यही कक्षाको नोट ल्याएर सारेर पढेपनि सहज ढंगले बुझिँदैन,’ उनले भने। उनका अनुसार अहिले सेक्सन ‘ए’ मा चाँहि चन्द्र काफ्लेले पढाउने गरेका छन्। यद्यपी, उनको पनि अब चाँडै रिटायर्ड हुँदैछ। उनको रिटायर्ड भएपछि अहिलेजस्तै उपमहानगरपालिकाले शिक्षक माग गर्न अवरोध पुर्याए थप अरु विद्यार्थीलाई पनि क्षति पुग्नेछ।
सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक होमनाथ दाहालले उपमहानगरपालिकाले शिक्षकका लागि विज्ञापन गर्न नदिँदा नै भद्रगोल भएको हो। ‘हाम्रो विद्यालयमा माघ २१ ग्तेदेखि सामाजिक शिक्षक नहुनु अनि वैशाख ३१ गतेदेखि लेखापाल नहुँदा विद्यालयले सारै दुःख बेर्होदै आएको छ,’ उनले भने, ‘लेखापालका लागि विज्ञापन आह्वान गरेर छ जनाको आवेदन प्राप्त भएपनि त्यसलाई छनोट गर्न सकेनौं।’
सरस्वती माध्यकि विद्यालयमा जस्तै धरान वडा नं. ११ को ज्ञानोदय माध्यमिक विद्यालयमा पनि झण्डै अढाई वर्षदेखि नेपाली शिक्षको शिक्षक नहुँदा विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको छ। कक्षा १२ व्यवस्थापन समूहमा अध्ययनरत सागर तामाङ्का अनुसार भदौं दोस्रो साता पहिलो त्रैमासिक परीक्षा हुँदा विद्यालय प्रशासनले केही शैक्षिक सामग्री पेन ड्राइभमा दिइएको थियो। यसअघिका साथीहरूले यूट्युवबाट पनि पढेका थिए। ‘यसपटक हामीले धेरै नै दबाब दिएपछि विद्यालय प्रशासनले डेन ड्राइभमा केही सामग्री दिएपनि त्यसरी पढ्दा केही बुझेन कुरा भएन,’ उनले भने।
ज्ञानोदयका विद्यार्थीहरूले शिक्षक अभावसँगै विद्यालयमा खानेपानी, शौचालय र कम्प्युटर ल्याब जस्ता आधारभूत पूर्वाधारको समेत अभाव रहेको बताएका छन्। झण्डै दुई वर्षअघि ज्ञानोदयमा अस्थायी समिति विरुद्ध मुद्दा परेपछि विवाद रहँदै आएको थियो। पछिल्लो तीन महिना अघिदेखि विद्यालय व्यवस्थापन समितिमा जितबहादुर राई चयन भएका छन्। जसले गर्दा व्यवस्थापन समितिको विवाद टुंगो लागेको छ। तर, यहाँ प्रधानाध्यापककामा समेत अहिले समस्या सिर्जना भएको छ। केही महिनाअघिसम्म विद्यालयको प्रधानाध्यापकमा अमर चेम्जोङ् थिए। उनले शान्ति याख्खालाई निम्ति प्रधानाध्यापक दिएका थिए। शान्तिले पनि असोज ५ गतेदेखि फेरि अर्को शिक्षक महेन्द्र साहलाई निम्तिको जिम्मेवारी दिएकी छन्। निम्ति प्रध्यानाध्यापक साहले लामो समयदेखि माध्यमिक तहको नेपाली शिक्षक नहुँदा विद्यार्थीले नपढेकै बुझनुपर्ने बताए।
ज्ञानोदयकै जस्तै सरस्वती माध्यमिक विद्यालयमा पनि व्यवस्थापन समितिविरुद्ध मुद्दा परेर विवाद रहदै आएकोमा पछिल्लो समय रामबहादुर योञ्जन तामाङ् व्यवस्थापन समिति अध्यक्ष छन्। यद्यपी, प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको तालमेल नमिल्दा समस्या हुँदै आएको छ। यतिबेला व्यवस्थापन समितिका अध्यक्ष सम्पर्कमा नभएको जानकारी दिइयो।
सरस्वती र ज्ञानोद दुवै विद्यालयमा राजनीति हुँदा समस्या भएको धरान उपमहानगरपालिका शिक्षा शाखा प्रमुख धुव्र खड्काले बताए। ‘सुरुवातमा दुवै विद्यालयमा शिक्षक नियुक्तिका लागि विज्ञापन आह्वान भयो, तर त्यो प्रक्रिया पूरा नहुँदै व्यवस्थापन समितिविरुद्ध अदालतमै उजुरी परेपछि समस्या हुँदै आएको हो,’ उनले भने।
कार्यकारी प्रमुख राईले विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी विवादमा राजनीतिक चासो बढेर आन्तरिक मतभेदले शिक्षक नियुक्ति जटिल बन्न पुगेको बताए। ‘विद्यालयमा शिक्षक र वडाध्यक्षहरूको ‘इन्ट्रेस्ट’ बढी जोडिएको र राजनीति बढी भएकाले समस्या भएको हो,’ उनले भने।
प्रकाशित: १० आश्विन २०८३ ०८:०६ शनिबार