शिक्षा

एसईई पूरक परीक्षा असार १ देखि

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार पूरक परीक्षा आगामी असार १ गतेदेखि असार ९ गतेसम्म सञ्चालन हुनेछ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने गरी समय निर्धारण गरिएको बोर्डले जनाएको छ। सार्वजनिक तालिकाअनुसार तोकिएको अवधिभर विभिन्न विषयका परीक्षा क्रमशः सञ्चालन गरिनेछन्।

नियमित एसईई परीक्षामा एक वा एकभन्दा बढी विषयमा अनुत्तीर्ण भएका विद्यार्थी तथा ग्रेड सुधारका लागि आवेदन दिएका परीक्षार्थीहरू पूरक परीक्षामा सहभागी हुन पाउनेछन्।

परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीहरूलाई समयमै परीक्षा केन्द्रमा उपस्थित हुन, प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउन तथा परीक्षा मर्यादा कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

प्रकाशित: ३१ वैशाख २०८३ १०:४६ बिहीबार