शिक्षा

एसइईका परीक्षार्थी ५१२९६१

आजदेखि एसइई परीक्षा सुरू: एक महिनाभित्र नतिजा

कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइई) सम्पन्न भएपछि नतिजाका लागि तीन महिनासम्म कुर्नुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ।

यस वर्षको एसइई बिहीबारदेखि सुरु हुँदै छ। एसइई सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्ने गरी सरकारले काम थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले एसइईको नतिजा १५ दिनभित्र प्रकाशन गर्न निर्देशन दिएका छन् तर राष्ट्रिय परीक्षा बोर्डले पाँच लाख परीक्षार्थीको नतिजा १५ दिनभित्र प्रकाशन गर्न मुस्किल हुने भएकाले एक महिनाभित्र सार्वजनिक गर्ने मार्गनिर्देशन पास गरेको छ।

चैत १९ देखि सुरु हुने एसइई २९ गते सम्पन्न हुने छ। देशभरि कायम गरिएका १ हजार ९ सय ६६ परीक्षा केन्द्रबाट ५ लाख १२ हजार ९ सय ६१ परीक्षार्थीले परीक्षा दिँदै छन्। एसइई परीक्षामा छात्रभन्दा छात्राको सख्या बढी छ। छात्रको संख्या २ लाख ५२ हजार ४ सय ३४ र छात्रा संख्या २ लाख ५७ हजार ५ सय २७ छ। एसइईमा सहभागी हुने माध्यमिक विद्यालयको संख्या ११ हजार ३ सय ७९ छ।

एसइई परीक्षा नियन्त्रक टुकराज अधिकारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चुडामणि पौडेलको अध्यक्षतामा बसेको बैठकले एसइई, २०८२ उत्तरपुस्तिका परीक्षणसम्बन्धी मार्गनिर्देशन पारित गरेको जानकारी दिए। ‘प्रधानमन्त्रीले नै एसइई परीक्षासम्बन्धी चासो देखाएर छिटो नतिजा प्रकाशनका लागि निर्देशन दिएअनुसार बोर्डले मार्गनिर्देशन तयार पारी पारित गरेको हो। जसअनुसार एसइई परीक्षा सम्पन्न भएलगत्तै देशभरिका १ हजा ९ सय ६६ परीक्षा केन्द्रलाई नै उत्तरपुस्तिका परीक्षण केन्द्र कायम गरी परीक्षण र सम्परीक्षणको काम सुरु हुन्छ,’ परीक्षा नियन्त्रक अधिकारीले भने, ‘यसको जिम्मेवारी प्रत्येक केन्द्राध्यक्षले गर्नुहुने छ।’

एसइई मार्गनिर्देशनअनुसार शिक्षकले आफूले पढाएका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने पाउने छैनन्। प्रत्येक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइले विज्ञ परीक्षकहरुको रोस्टर तयार पारी परीक्षक छनोट गर्छ। बोर्डले उत्तरकुन्जिका सबै केन्द्रमा पठाउँछ। त्यही अधारमा परीक्षक र सम्परीक्षकले उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने व्यवस्था मार्गनिर्देशनमा गरिएको छ। परीक्षा व्यवस्थापनका लागि देशभरि ७३ हजार पाँच सय जनशक्ति परिचालन गरिने भएको छ।

परीक्षा उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले पारित मागनिर्देशनअनुसार परीक्षा केन्द्रहरुले उत्तरपुस्तिका परीक्षण गरी मार्कस्लिप सम्बन्धित एकाइमा तीन दिनभित्र पठाउनुपर्ने छ। प्रत्येक एकाइले प्राप्त मार्कस्लिप ५ दिनभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने छ। त्यसपछि बोर्डले कम्प्युटरमा तथ्यांक प्रविष्ट गरी महिना दिनभित्र नतिजा प्रकाशन गर्ने ज्ञवालीले बताए।

विगतमा देशभरिका उत्तरपुस्तिका परीक्षण गर्न ४५ देखि ५० वटा परीक्षण केन्द्र तोकिने गरेकोमा यसपटक १ हजार ९ सय ६६ वटा परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण हुने छ। यसले गर्दा नतिजा प्रकाशन चाँडै हुने र विगतमा जस्तै परीक्षा दिएको तीन महिनासम्म नतिजाका लागि पर्खनुपर्ने बाध्यता हट्ने ज्ञवालीले बताए। तीन महिनासम्म विथार्थीले आफूलाई व्यस्त राख्न ब्रिज कोर्ष गर्ने, कक्षा ११ मा भर्नाका लागि तयारी कक्षा लिने गरेका थिए। यस्ता ब्रिज कोर्ष र तयारी कक्षाले विद्यार्थी र अभिभावकमा आर्थिक भार थपेको भन्दै सरकारले आगामी वैशाखदेखि १२ कक्षासम्म लक्षित ब्रिज कोर्ष र तयारी कक्षा बन्द गर्ने निर्णय गरेको छ।

‘बोर्डले एक महिनाभित्रै त्रुटिरहित एसइई नतिजा प्रकाशन गर्न प्रदेश निर्देशनालय, परीक्षा समिति, जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहको शिक्षा विभागले उत्तरपुस्तिका परीक्षण केन्द्रमा अनुगमन गर्ने छन्,’ उपनियन्त्रक ज्ञवालीले भने, ‘पहिले प्रदेश फरक पारेर नै ४५ देखि ५० वटा परीक्षण केन्द्र देशभरि तोकेर उत्तरपुस्तिका परीक्षण गराउने काम हुन्थ्यो। यसपटक देशभरि तोकिएका परीक्षा केन्द्रमैै उत्तरपुस्तिका परीक्षणको व्यवस्था गरिएको छ। त्यही विज्ञ शिक्षकले परीक्षण र सम्परीक्षण गर्ने भएकाले नतिजा छिटो र विश्वासिलो पनि हुन्छ।’

उनका अनुसार परीक्षण केन्द्रमा जनशक्ति अभाव भएमा वैकल्पिक उपाय खोज्न शिक्षा विकास तथा समन्वय एकाइलाई अधिकार दिइएको छ।

यसपटक बोर्डले परीक्षा केन्द्रमा हुल बनाएर अनुगमन जाने कार्यामा रोक लगाएको छ। ‘प्रत्येक जिल्ला प्रमुखको संयोजकत्मा जिल्ला परीक्षा समन्वय समिति हुन्छ। त्यही समतिका आधिकारीक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिरमात्र अनुगमन गर्ने निर्णय बोर्डले गरेको छ। पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र खिच्न मिल्छ,’ ज्ञवालीले भने, ‘परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र त्यसदिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको छ।’

प्रकाशित: १९ चैत्र २०८२ ०६:१६ बिहीबार