शिक्षा

चितवनमा एसइई उत्तरपुस्तिका परीक्षणः अंग्रेजीको सकियो, नेपालीको अन्तिम चरणमा

चितवनमा माध्यमिक शिक्षा परीक्षा (एसइइ)को उत्तरपुस्तिका परीक्षण कार्यलाई तीव्र गतिमा अगाडि बढाइएको छ ।  

शिक्षा विकास तथा समन्वय इकाइ, चितवनका अनुसार यस वर्ष सरकारको नयाँ व्यवस्था अनुसार जिल्लामा सञ्चालित परीक्षा केन्द्रमै तीव्र गतिमा उत्तरपुस्तिका परीक्षणको कार्य भइरहेको हो ।  

इकाइका प्रमुख लक्ष्मण देवकोटाका अनुसार आइतबार दिउँसोसम्म अंग्रेजी विषयको सम्पूर्ण उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको छ भने नेपाली विषयको परीक्षण अन्तिम चरणमा पुगेको छ । उनले भने,‘सरकारको निर्णयअनुसार हामीले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिरहेका छौँ । अंग्रेजी विषयको परीक्षण पूरा भइसकेको छ भने नेपाली विषयको आज साँझसम्म सक्ने लक्ष्य राखिएको छ ।’

यसैगरी गणित विषयको उत्तरपुस्तिका परीक्षण पनि आइतबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ । अन्य विषयहरूको परीक्षण कार्य पनि क्रमशः अगाडि बढाइने उनले बताए । परीक्षा केन्द्रमै परीक्षण गर्ने व्यवस्थाले उत्तरपुस्तिका ढुवानीको झन्झट हटाउनुका साथै समयमै नतिजा प्रकाशन गर्न सहयोग पुग्ने उनले बताए । ‘अहिले परीक्षण कार्य छिटो, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ,’ उनले भने, ‘यसरी काम गर्दा परीक्षाको नतिजा निकाल्न छिटो हुन्छ।’

परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दा निष्पक्षता माथि भने प्रश्न उठ्न थालेको छ । यद्यपि निष्पक्षता रुपमा उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिइएको उनले बताए । ‘हाइहेल्लो नगरी फेयर तरिकाले उत्तर पुस्तिका जाँच गर्ने हो भने ठिक छ । नतिजा कम आएमा रिचेकको व्यवस्था पनि छ,’ उनले भने ‘शिक्षकको नियत नै खराब भए त के गर्न सकिएला र नभए हार्मील निष्पक्ष जाँच गर्न भनेका छौँ।’ परीक्षामा सहभागी विद्यार्थीहरूको भविष्यसँग जोडिएको यस महत्वपूर्ण प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन शिक्षकहरूलाई आवश्यक निर्देशन र तालिमसमेत प्रदान गरिएको उनले बताए ।

चितवन जिल्लामा एसइइ परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा भइरहेको छ । जिल्लामा ६ हजार १७० छात्रा र ६ हजार २८२ छात्र सहित १२ हजार ४५२ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका छन् । जसमध्ये नियमित तर्फ २११ जना प्राविधिक सहित १० हजार ५७९, ग्रेड बृद्धितर्फ १३३ प्राविधिक सहित १ हजार ८७३ रहेका छन् ।  

जिल्लामा ४२ वटा परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भइरहेको छ । ३४ वटा सामुदायिक विद्यालय र ८ वटा संस्थागत विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । जसमा परीक्षामा सहभागि हुने विद्यालयको संख्या २४४ रहेको उनले बताए । जिल्लामा सामुदायिक तर्फ १२४, संस्थागत तर्फ ११३ र धार्मिक विद्यालय तर्फ ७ वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागि छन्, उनले भने ‘सामुदायिक विद्यालयका परीक्षार्थीको संख्या ६ हजार ७५४ रहेको छ।’ यस्तै संस्थागत विद्यालयका विद्यार्थी ५ हजार ५८८ र धार्मिक विद्यालयका ११० जना विद्यार्थीले यसपटक एसइइको परीक्षा दिइरहेका छन् ।  

चितवन जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकाबाट ७ हजार ३९ जना विद्यार्थीले परीक्षा दिँदैछन् । त्यस्तै रत्ननगर नगरपालिबाट १ हजार ८१६, खैरहनी नगरपालिकाबाट १ हजार २४९, राप्ती नगरपालिकाबाट ८८९, कालिका नगरपालिकाबाट ५४७, माडी नगरपालिकाबाट ४६९ र इच्छाकामना गाउँपालिबाट ३४० जना विद्यार्थी एसइइ परीक्षामा सहभागि छन् । चितवनमा अघिल्लो वर्ष १२ हजार ३५६ जनाले परीक्षा दिएका थिए।

प्रकाशित: २२ चैत्र २०८२ १८:०० आइतबार