शिक्षा

भारतको सहयोगमा प्यूठानमा बनेको विद्यालय भवन उद्घाटन

प्यूठानमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको विद्यालय तथा छात्रावास भवनको आज उद्घाटन गरिएको छ।  

प्यूठानको ऐरावती गाउँपालिका–१, अमिलीस्थित दाङवाङ माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा काठमाडौंस्थित भारतीय दूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा भवन उद्घाटन गरे। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति थियो।

भारत सरकारको अनुदान सहयोगमा विद्यालय भवन, छात्रावास तथा अन्य आवश्यक संरचनाको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत गरिएको हो। परियोजना ऐरावती गाउँपालिका मार्फत कार्यान्वयन गरिएको थियो।

दाङवाङ माध्यमिक विद्यालय प्यूठानको ग्रामीण क्षेत्रको अग्रणी सरकारी विद्यालयमध्ये एक मानिन्छ। विद्यालयमा हाल २३४ विद्यार्थी अध्ययनरत छन्, जसले ईसीडी (प्लेग्रुप) देखि कक्षा १० सम्म शिक्षा प्रदान गर्छ। तीमध्ये झन्डै ६० प्रतिशत छात्रा छन्।

प्रकाशित: ४ मंसिर २०८२ १७:०५ बिहीबार