त्रिभुवन विश्वविद्यालयको खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रम र नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) बीच खेलकुद विज्ञानको अध्ययन, अनुसन्धान र विद्यार्थीको क्षमता विकासमा सहकार्य गर्ने समझदारी भएको छ।
कीर्तिपुरस्थित खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमको सभाहलमा आयोजित कार्यक्रममा कार्यक्रम संयोजक प्रा. पशुपति अधिकारी र एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरे।
समझदारीअनुसार खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रममा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति, अनुसन्धान, अनुदान तथा शैक्षिक गतिविधिमा सहयोग गरिनेछ। विद्यार्थीलाई सभा, सम्मेलन, सेमिनार, कार्यशाला, अध्ययन भ्रमण र अन्तर्राष्ट्रिय छात्रवृत्तिमा सहभागी हुने अवसर उपलब्ध गराउन पनि सहकार्य गरिने उल्लेख छ।
त्यस्तै, विद्यार्थी तथा शिक्षकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यक्रम, प्रशिक्षक तथा रेफ्री तालिम, खेल विज्ञान सम्मेलन र खेल शिविरमा सहभागी गराइनेछ।
खेलकुद विज्ञानसँग सम्बन्धित अनुसन्धान तथा प्राविधिक सहयोग पनि समझदारीको महत्वपूर्ण पक्ष रहेको छ। खेल मनोविज्ञान, खेल बायोमेकानिक्स, पोषण, चिकित्सा, फिजियोथेरापी र खेल व्यवस्थापनजस्ता क्षेत्रमा शैक्षिक तथा अनुसन्धानात्मक सहकार्य अघि बढाउने तयारी छ।
समझदारीको अवधि पाँच वर्ष रहनेछ। दुई पक्षबीच कुनै समस्या उत्पन्न भए आपसी छलफलबाट समाधान गर्ने र आवश्यकताअनुसार सहमतिमा समझदारी नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।
यसै अवसरमा त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमको एलुम्नाई एसोसिएसन नेपालको पहिलो सभा पनि आयोजना गरिएको थियो। सभाले एसोसिएसनको कार्यसमिति गठन तथा आगामी गतिविधिका विषयमा छलफल गरेको थियो।
कार्यक्रममा खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमका शिक्षक, विद्यार्थी, एलुम्नाई, विश्वविद्यालयका पदाधिकारी तथा खेलकुद क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो। कार्यक्रममा खेलकुद क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो।
त्रिवि र एनएसएसएफबीचको यो सहकार्यले खेलकुद विज्ञानका विद्यार्थीलाई अध्ययनसँगै अनुसन्धान, प्रशिक्षण र व्यवहारिक खेलकुद गतिविधिमा जोड्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ३१ श्रावण २०८३ १४:०८ आइतबार