नइ एकेडेमीबाट 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ को तयारी हुँदै थियो। नइ तिहारपछि सम्मेलन गर्ने अभियानमा जुटेको थियो तर जेन-जी आन्दोलनपछि छाएको अस्थिर अवस्थाका कारण उक्त सम्मेलन स्थगित भएको छ।
नइले विज्ञप्तिमा भनेको छ, 'गत भदौ २३ र २४ गते देशमा अकल्पनीय दुखद् र कारूणिक घटना घटेपछि हामी पनि विह्वोल र स्तब्ध भएका छौं। अत: 'नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ को तिथिमिति केही समय पर सार्नुपरेको बेहोरा हामी अवगत गराउँछौं।'
नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि विद्यावारिधि तहसम्मको पठनपाठन र अनुसन्धान हुने दुवै देशका सम्पूर्ण विश्वविद्यालयका २५ प्राज्ञबाट दस्तावेजहरू प्राप्त भइसकेका छन्।
जसमा प्राडा ऋषिराम शर्मा, प्राडा कपिलदेव लामिछाने, प्राडा कविता लामा, प्रा. केशव सुवेदी, प्राडा कृष्णराज घतानी, प्रा.खेमराज जोशी, प्राडा चक्रपाणि खनाल, प्राडा चूडामणि बन्धु, प्राडा जङ्गब चौहान, डा. टेकबहादुर छेत्री, प्राडा ताराकान्त पाण्डेय, प्राडा दयाराम श्रेष्ठ, प्राडा दिवाकर प्रधान, डा. दैवकीदेवी तिम्सिना, प्राडा पुष्प शर्मा, प्राडा भरतकुमार भट्टराई, डा. रजनी काफ्ले ढकाल, डा. राजकुमार क्षेत्री,प्राडा लक्ष्मणप्रसाद गौतम, प्राडा लेखप्रसाद निरौला, महासमालोचक प्राडा वासुदेव त्रिपाठी, प्रा. शिवगोपाल रिसाल, प्राडा सञ्जय राई तथा डा.अरुणा राई, डा. साधना पन्त ‘प्रतीक्षा’, डा.हर्कबहादुर शाही रहेका छन्। यी दस्तावेजका समीक्षक प्राडा महादेव अवस्थी रहेका छन्।
नइ एकेडेमीले महासमालोचक प्राडा वासुदेव त्रिपाठीको प्राज्ञिक नेतृत्वमा दुई दिने 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्न लागेको हो।
'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ का संयोजक प्राडा महादेव अवस्थी हुन् भने सल्लाहकारमा प्रा. केशव सुवेदी रहेका छन्। अवस्थी र सुवेदी दुवै त्रिमूर्ति निकेतनका संयोजक हुन्।
यस बृहत् कार्यका लागि ३५ लाख रूपियाँ लाग्ने नइले अनुमान छ। यो सम्मेलन नइको आफ्नै स्रोतबाट हुने छ। नइले भनेको छ 'जनस्तरबाट पनि हामीले आार्थिक सहयोग लिएका छैनौं; सहयोग पाए हामी धन्य नै हुनेछौं तर यस कार्यका लागि नेपाल सरकार या भारतबाट चाहिं हामीले पैसा लिएका छैनौं।'
८० ग्रामको म्याफ लिथो कागतमा १८x२४ इन्चको स्मारिका आकारको हार्ड कभरमा ८७२ पृष्ठको ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नामक बृहत् ग्रन्थ प्रकाशित हुने छ। सो ग्रन्थ सम्मेलनका सम्पूर्ण सहभागीलाई नि: शुल्क समर्पण गरिने छ।
प्रकाशित: २२ आश्विन २०८२ १३:१० बुधबार