शिक्षा

उज्बेकिस्तानको युनिभर्सिटी नेपाली युवाको छलाङ् : उपकुलपतिमा भण्डारी नियुक्त

नेपालका किशन भण्डारी उज्बेकिस्तानको एसिया इन्टरनेसनल युनिभर्सिटीको उपकुलपति नियुक्त भएका छन्। यसअघि उनी सोही विश्वविद्यालयमा मेडिकल शिक्षातर्फका डीन थिए। 

भण्डारीले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्‍याउने आफ्नो प्राथमिकता रहेको बताएका छन्। विश्वविद्यालयमा मेडिकलसँगै आईटी, बिजनेस र व्यवस्थापनलगायत ९० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् भने करिब ३३ हजार विद्यार्थी अध्ययनरत छन्। 

भण्डारीले सन् २००९ मा छात्रवृत्तिमा रुस गएर एमबीबीएस अध्ययन सुरु गरेका थिए। सन् २०१३ मा एमबीबीएस पूरा गरेपछि उनी कीर्गिस्तान पुगे। त्यहाँ न्युरोसर्जरी र जनस्वास्थ्यमा स्नातकोत्तर गरेका उनले स्टेट मेडिकल इन्स्टिच्युटमा काम गर्दै सहायक डीनसम्मको जिम्मेवारी सम्हाले। 

पछिल्लो तीन वर्षदेखि उनी उज्बेकिस्तानको बुखारास्थित एसिया इन्टरनेसनल युनिभर्सिटीमा डीनका रूपमा कार्यरत थिए। अब उनी विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारीमा पुगेका छन्। 

प्रकाशित: ७ भाद्र २०८३ १३:०३ आइतबार