त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। साइबर ब्युरोले ‘सुलभ सर’ भनेर चिनिने व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
अनुसन्धानको मुख्य केन्द्रमा भने ‘MBS First Sem Section C’ नामक ह्वाट्सएप समूह रहेको छ। उक्त समूहमा १ हजार २३ जना सदस्य रहेको र परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र साझा गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सार्वजनिक भएका स्क्रिनसटमा ‘सुलभ सर’ नामबाट प्रश्नपत्र पठाइएको देखिन्छ भने त्यसपछि समाधान (सोलुसन) मागिएको तथा थप पीडीएफ फाइल पनि पठाइएको उल्लेख छ।
प्रहरीले प्रश्नपत्र कसरी बाहिरियो, कसले समूहमा उपलब्ध गरायो र समूहका अन्य सदस्यहरूको संलग्नता कस्तो छ भन्ने विषयमा विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले घटनाबारे नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीसँग छलफल गरेका छन् भने प्रहरीले घटनाबारे थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रश्नपत्र बाहिरिएपछि त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालयले साइबर ब्युरोलाई औपचारिक पत्राचार गर्दै घटनाको छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेको थियो। त्यससँगै परीक्षा नियन्त्रण महाशाखाले प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सात कार्यदिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
यस घटनाले त्रिविको परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको भन्दै विद्यार्थी तथा सरोकारवालाहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
प्रकाशित: १० श्रावण २०८३ १३:५६ आइतबार