शिक्षा

बिहीबारदेखि सुरु हुने एसईईको तयारी पूरा

भोलि (बिहीबार)देखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ। 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले बिहीबार बिहान ८ बजेदेखि हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार यस वर्ष ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

एसईई परीक्षाका लागि देशभरका १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएको छ। जम्मा ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने उनले जानकारी दिए।  

सबैभन्दा बढी परीक्षार्थी काठमाडौंमा रहेका छन् भने सबैभन्दा कम मनाङमा छन्। ज्ञवालीका अनुसार काठमाडौंका १ सय ३५ वटा परीक्षा केन्द्रबाट ४१ हजार १ सय ५५ जना विद्यार्थीले परीक्षा दिँदैछन्। सबैभन्दा कम मनाङमा एउटा मात्र परीक्षा केन्द्र रहेको छ जहाँबाट ३७ जना विद्यार्थीले परीक्षा दिनेछन्। जापानमा रहेको केन्द्रबाट भने २३ जना विद्यार्थी सहभागी हुनेछन्।

यस वर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८ सय ९५ जना विद्यार्थी पनि परीक्षामा सहभागी हुँदैछन्। परीक्षामा असफल भएका विद्यार्थीलाई कम्तीमा तीनपटकसम्म परीक्षा दिने अवसर दिने परीक्षा नियन्त्रण कार्यालयको तयारी छ।  २०७९ सालमा नियमिततर्फ परीक्षामा सहभागी भएर हालसम्म उत्तीर्ण हुन नसकेका विद्यार्थीहरू पनि यसपटक परीक्षामा सहभागी हुनेछन्।  

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी झण्डै ७३ हजार जनशक्ति परिचालन गरिँदैछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। 

भोलि पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। आउँदो २९ गते सकिने परीक्षाको क्रममा हलमा मोबाइल फोन, स्मार्ट घडी, विद्युतीय उपकरणलगायत प्रयोग गर्न पाइने छैन।

प्रकाशित: १८ चैत्र २०८२ १७:०४ बुधबार