शिक्षा

योग्यता र मेरिटका आधारमा संस्कृत विश्वविद्यालयका पदाधिकारी छनोट गरिँदै

सरकारले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्तिका लागि प्रक्रिया सुरु गरेको छ।

विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आइतबार सूचना प्रकाशित गरी ती पदहरूमा दरखास्त आह्वान गरेको हो।

समितिले यही जेठ ११ मा स्वीकृत ‘नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम दरखास्त खुलाएको जनाएको छ।

इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा दिइएको लिङ्कमार्फत दरखास्त दिन सक्नेछन्।

उल्लिखित कार्यविधि पनि मन्त्रालयको वेबसाइटमा राखिएको छ। नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली (मेरिटोक्रेसी) र प्रक्रियागत निष्पक्षतालाई बलियो बनाउन कार्यविधि नै बनाएर पदाधिकारी छनोट गर्न लागिएको हो।

नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ को दफा १६ (क) बमोजिम विश्वविद्यालयका कुलपति (प्रधानमन्त्री) बाट सिफारिस समिति गठन भएको हो।

उच्च शिक्षाको क्षेत्रमा अनुभव भएका योग्यतम व्यक्तिलाई खुला प्रतिस्पर्धाको माध्यमबाट छनोट गरी नियुक्तिका लागि सिफारिस गर्न समितिले उम्मेदवार छनोटका विधि, आधार र प्रक्रिया तय गर्दै नयाँ कार्यविधि बनाएको हो।

कार्यविधिअनुसार समितिले उम्मेदवारबाट पेस भएका शैक्षिक योग्यता, अनुसन्धानमूलक लेख, विश्वविद्यालयसम्बन्धी बढीमा पाँच हजार शब्दको शोधपत्र तथा चार वर्षे रणनीतिक कार्ययोजनाको मूल्याङ्कन गर्नेछ।

यसका साथै उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा उपलब्ध भएसम्म क्रमशः तीन-तीन जना उम्मेदवार छनोट गरी योग्यता क्रमका आधारमा नियुक्तिका लागि कुलपतिसमक्ष सिफारिस गरिनेछ।

उपकुलपति र शिक्षाध्यक्ष छनोट विधिमा मूल्याङ्कन १०० पूर्णाङ्कमा आधारित हुनेछ। जसमा प्रकाशित अनुसन्धान, पुस्तक, प्रशासनिक अनुभव, प्रस्तुतीकरण र अन्तर्वार्तालाई अङ्क दिइनेछ।

अन्तर्वार्तामा अत्यधिक कम वा धेरै अङ्क दिँदा त्यसको कारण खुलाउनुपर्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ।

यस्तो छ शैक्षिक योग्यता र मापदण्ड

नयाँ कार्यविधिले उपकुलपति बन्न कम्तीमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था अनिवार्य गरेको छ।

साथै, कम्तीमा १० वर्षको अनुसन्धान तथा प्राज्ञिक अनुभव भएको, उच्च नैतिक चरित्र भएको र कुनै पनि राजनीतिक दलको सदस्य नरहेको हुनुपर्नेछ।

उम्मेदवारले आफूले प्रकाशन गरेका लेख-रचनाको प्रतिलिपि पनि पेस गर्नुपर्नेछ।

त्यसैगरी, कुलसचिव (रजिस्ट्रार) का लागि मान्यताप्राप्त विश्वविद्यालयबाट संस्कृत भाषा वा साहित्यमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्नेछ।

यसका साथै उच्च शिक्षामा प्राविधिक, शैक्षिक प्रशासन वा अनुसन्धानको क्षेत्रमा १० वर्षको अनुभव भएको प्रमाण पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

कुलसचिवका उम्मेदवारले पनि विश्वविद्यालयसम्बन्धी शोधपत्र र चार वर्षे रणनीतिक कार्ययोजना पेस गर्नुपर्नेछ।

प्रकाशित: १३ जेष्ठ २०८३ १६:०१ बुधबार