शिक्षा

उच्च शिक्षा सुधारका लागि नयाँ राष्ट्रिय शैक्षिक क्यालेन्डर स्वीकृत

सरकारले उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले मङ्गलबार मन्त्रीस्तरीय निर्णयमार्फत यसलाई स्वीकृत गर्दै कार्यान्वयनका लागि देशका सबै विश्वविद्यालयहरूमा परिपत्र गर्ने निर्णय गरेको हो।

यसअघि कार्यान्वयनमा रहेको ‘उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरसम्बन्धी प्रतिवेदन, २०८०’ लाई बदलिँदो आवश्यकताअनुसार परिमार्जन गरी नयाँ शैक्षिक क्यालेन्डर लागू गरिएको मन्त्रालयले जनाएको छ।

यो सरकारको शासकीय सुधारसम्बन्धी सयदिने कार्यसूचीको बुँदा नम्बर ८७ मा समावेश थियो। उक्त बुँदामा विश्वविद्यालयहरूबाट लिइने स्नातक र स्नातकोत्तर तहको परीक्षाको नतिजा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको क्यालेन्डरअनुसार निकाल्ने लक्ष्य राखिएको थियो।

सोही प्रतिबद्धता पूरा गर्न मन्त्रालयले आयोगमार्फत परिमार्जित क्यालेन्डर कार्यान्वयनमा ल्याएको हो। आयोगका उपनिर्देशक रमेश प्रसाद अधिकारीका अनुसार परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेन्डर लागू भएसँगै विश्वविद्यालयहरूमा विद्यार्थी भर्ना, अध्यापन, परीक्षा सञ्चालन र नतिजा प्रकाशन जस्ता सम्पूर्ण शैक्षिक गतिविधिहरू तोकिएको समय तालिकाभित्रै सम्पन्न हुनेछन्।

नयाँ क्यालेन्डर ‘विश्वविद्यालय अनुदान आयोग ऐन, २०५०’ को दफा ६ को उपदफा (१) को खण्ड (घ), (ङ) र (च) बमोजिम कार्यान्वयन गरिनेछ। यसका साथै, आवश्यक विषयहरूलाई ‘अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४’ बमोजिम समावेश गरी कार्यान्वयनका लागि विश्वविद्यालयहरूलाई निर्देशन दिइने आयोगले जनाएको छ।

यसअघि २०८० साल भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट पहिलोपटक राष्ट्रिय शैक्षिक क्यालेन्डर स्वीकृत भई कार्यान्वयनमा आएको थियो। त्यसलाई समयानुकूल परिमार्जन गर्न आयोगले गठन गरेको परिमार्जन समितिको २०८३ जेठ १२ गतेको निर्णय तथा सिफारिसका आधारमा संशोधित प्रस्ताव स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको थियो।

प्रकाशित: १७ असार २०८३ १५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App