शिक्षा

दुर्गमका छात्रालाई ‘नइ कपिल विद्यापदक’

डोल्पा, हुम्ला, बाजुरा र दार्चुला जिल्लाका सुमित्रा बूढा, सौमती शाही, प्रतीक्षा विष्ट र इशारा कोट्टारीलाई जनही तीसतीस हजार रुपियाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण गरिएको छ। चारै छात्रालाई अनलाइनबाट पुरस्कारका राशि प्रदान गरिएको हो।

चार दुर्गम जिल्लाका छात्राहरू २०८२ सालका सर्वोत्कृष्ट घोषित भएका हुन्। चार जिल्लाका सरकारी स्कुलबाट १२ कक्षाका छात्रामध्ये सर्वोत्कृष्टलाई ‘नइ कपिल विद्यापदक’ प्रदान हुँदै आएको छ।

सर्वोत्कृष्ट घोषित छात्राहरू डोल्पाको आदर्श स्कुल, हुम्लाको मानसरोवर स्कुल, बाजुराको जनप्रकाश स्कुल र दार्चुलाको लटीनाथ स्कुलका हुन्।

नइ एकेडेमी प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार नइ एकेडेमीले २०७९ सालदेखि सुप्रसिद्ध मनोचिकित्सक डा. कपिलदेव उपाध्यायका सम्मानमा बर्सेनि ‘नइ कपिल विद्यापदक’ समर्पण गर्दै आएको छ।

प्रकाशित: ८ मंसिर २०८२ १०:१७ सोमबार