बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजित ‘अक्सफोर्ड सइद क्लाइमेट टेक च्यालेन्ज–२०२६’ मा नेपाली टिम प्रथम भएको छ। पोखरा–७ मासवारस्थित मदरल्याण्ड माविका विद्यार्थीले नेपालको प्रतिनिधित्व गर्दै उक्त प्रतिश्पर्धामा सहभागि भएका थिए। त्यही टिम विभिन्न मुलुकका प्रतिश्पर्धीलाई पछाडि पार्दै प्रथम भएको हो।
प्रतियोगितामा विश्वका ८३ देशका दुई हजारभन्दा बढी टोली सहभागी भएका थिए। तीमध्ये नेपाली टोली अन्तिम पाँच प्रतिस्पर्धीमा छनोट हुँदै विजेता बन्न सफल भएको हो। प्रतियोगितामा मदरल्याण्ड माविमा कक्षा १२ मा अध्ययनरत विज्ञान संकायका विद्यार्थीहरु ओमकार बराल, विवेक सुवेदी र ओम विक सहभागी भएका थिए। उनीहरुको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो।
विश्वका विभिन्न देशका टोलीसँग प्रतिस्पर्धा गरेर प्राप्त गरेको यो सफलतालाई नेपाली विद्यार्थीका लागि अन्तर्राष्ट्रियस्तरको महत्वपूर्ण उपलब्धिका रुपमा लिएको विद्यार्थीलाई सहजीकरण गरेका विद्यालयका शिक्षक बामन घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार अक्सफोर्ड विश्वविद्यालय अन्तर्गत ३९ वटा कलेज रहेकोमा सइद बिजनेस स्कुलले यो प्रतियोगिता आयोजना गरेको थियो। चौथो पटक यो कार्यक्रम आयोजना गरिएको थियो।
अघिल्लो वर्ष यस्तै कार्यक्रममा विभिन्न ७२ वटा मुलुकका १६ सय टोलीले सहभागिता जनाएका थिए। यो पटक नेपालसहित ८३ वटा मुलुकका २ हजार बढि टिमले सहभागिता जनाएकोमा नेपालको तर्फबाट सहभागि एकमात्र मदरल्याण्डको टिम प्रथम भएको घिमिरेले बताए। ‘विद्यालयको मात्र नभई समग्र नेपालकै पहिचान फराकिलो बनाउन विद्यार्थी सफल भएका छन,’ घिमिरेले भने।
‘प्रतियोगितामा छनोट हुनु आफैंमा एउटा अप्रत्याशित र सुखद आश्चर्य थियो। त्यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा हाम्रा युवा विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गर्दै अन्ततः च्याम्पियन बन्न सफल भएका छन,’ उनले भने, ‘यो मुलुककै गौरवको कुरा हो।’
घिमिरेका अनुसार सहभागि टिममध्ये नेपाल सहित पाँचवटा मुलुकका टिमलाई उत्कष्ट छानेर प्रतिश्पर्धा गराईको थियो। जहाँ विज्ञहरुको समूहले विद्यार्थीको प्रस्तुतीलाई नियालेका थिए। त्यही प्रतिश्पर्धाका आधारमा नेपाली टिम पहिलो, अमेरिकी टिम दोश्रो र बेलायती टिम तेश्रो बनेका थिए।
घिमिरेका अनुसार गाउँघरमा सुक्दै गएका पानीका मूललाई जोगाउनका लागि गर्न सकिने अभ्यासबारे विद्यार्थीले प्रस्तुती दिएका थिए। ‘पानीका मूल सुकेका छन। तिनै मूलको माथिल्लो पाखामा पोखरी खनेर पानी संकलन गरेर ती मूल ब्यूताउन सकिन्छ भन्ने बारे विद्यार्थीको प्रस्तुती थियो,’ उनले भने, ‘जलवायु परिवतर्नको असरलाई प्रविधिको माध्यमबाट समाधान गर्न सकिने अवस्थाबारे उनीहरुले दिएको प्रस्तुती निकै नै रोचक पनि थियो।’ खानेपानीको अभावलाई पूरा गर्ने उपायमा आधारित भएर यो प्रतिश्पर्धा आयोजना गरिएको थियो।
प्रथम भएको यो टिमले आगामि जुलाईमा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित १५ दिने समर क्याम्पमा सहभागि हुन पाउने विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए। ‘जलवायु परिवर्तनको असरलाई नेपाली विद्यार्थीले बुझेर विश्वमा बुझाउन सकेका छन, यसले नेपालको अवस्था र जलवायु परिवर्तनको असर पनि देखाउन सकिएको छ,’ आचार्यले भने, ‘यसले नेपाली विद्यार्थीको क्षमताको पनि कदर गरेको छ।’
विद्यालय प्राचार्य डा. नारायण बरालले मदरल्याण्डका विद्यार्थीको यो क्षमताले समग्र नेपाली विद्यार्थीको क्षमतालाई प्रतिनिधित्व गर्ने बताए। ‘८३ मुलुकका २ हजार बढि टिममध्ये नेपालको टिमले पहिलो स्थान हासिल गर्नु आफैमा गौरवको कुरा हो,’ उनले भने, ‘यसले समग्र नेपाली विद्यार्थी अन्तर्राष्ट्रिय स्पर्धामा पनि अब्बल रहेको प्रमाणित गर्छ।’
मदरल्याण्डका विद्यार्थीले उजागर गरेको विषय सबै मुलुकका लागि उदाहरणीय बनेको पनि बरालले बताए। ‘नेपालले खेपेको जलवायु परिवर्तनको असर कुन तहसम्मको रहेछ भन्ने पनि यसले देखाएको छ, विश्वले यस्ता कार्यक्रमबाट नेपाली अवस्थाबारे बुझ्न पनि पाएका छन,’ बरालले भने।
जलवायु परिवर्तनका चुनौती समाधान गर्न प्रविधिको प्रयोग र नयाँ सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली विद्यार्थीले हासिल गरेको यस सफलताले नेपालको शैक्षिक तथा सिर्जनात्मक क्षमतालाई विश्वमञ्चमा चिनाउन सफल भएको प्राचार्य बरालले बताए।
प्रकाशित: १८ कार्तिक २०८३ १६:१४ बुधबार