बिहीबारदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा गण्डकी प्रदेशबाट ४३ हजार ३५५ विद्यार्थी सहभागी हुने भएका छन् ।
परीक्षाको सबै तयारी पुरा भएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखा, पोखराका प्रमुख दामोदर सुवेदीले जानकारी दिए । प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेड वृद्धि समूहका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
जिल्लागत विवरणअनुसार प्रदेशमा सबैभन्दा बढी कास्कीमा १० हजार ८४३ विद्यार्थी सहभागी हुने उनले बताए । तनहुँमा छ हजार १५५, नवलपुरमा छ हजार ७१२, स्याङ्जामा चार हजार २८८ र बागलुङमा चार हजार २३९ विद्यार्थी रहेका छन् । गोरखामा तीन हजार ७९७, लमजुङमा दुई हजार ८६२, पर्वतमा दुई हजार २१७ र म्याग्दीमा दुई हजार २२ विद्यार्थी सहभागी हुनेछन् ।
सबैभन्दा कम मनाङमा ३४ र मुस्ताङमा १८६ जना विद्यार्थी रहेको महाशाखाले जनाएको छ । परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखहरूलाई जिम्मेवारी दिइएको छ ।
प्रदेशभर १८७ वटा परीक्षा केन्द्र तोकिएको र सबै केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गरिसकिएको महाशाखाले जनाएको छ ।
प्रकाशित: १८ चैत्र २०८२ १८:५७ बुधबार