शिक्षा

‘नेपालमै विद्यार्थी रोक्ने वातावरण बनाऔं’

प्याब्सन सुनसरीको जिल्ला परिषद् भेला । तस्बिर: अमर खड्का/नागरिक

नेपाली विद्यार्थीलाई स्वदेशमै रोक्ने वातावरण बनाउनका लागि तल्लो कक्षादेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने मंगलबार इटहरीमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले कक्षा १२ पछि पनि नेपाली विद्यार्थीलाई स्वदेशमै पढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।  

‘कक्षा १२ पछि पनि नेपाली विद्यार्थीलाई रोक्ने वातावरण बनाऔं,’ निजी विद्यालय प्याब्सन सुनसरीको जिल्ला परिषद् भेलालाई सम्बोधन गर्दै प्याब्सन पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पुरीले भने ‘एकातिर जन्मदार घट्दो भएकाले गर्दा निजी विद्यालय टिकाउन गाह्रो छ । अर्कातिर गरिखाने व्यक्तिलाई माफियाको ट्याग लगाएर समस्या छ ।’ उनले अहिलेको विद्यार्थीलाई भ्रष्टाचारी बनाउने कि ? सदाचारी शिक्षकको हातमा भएकाले गर्दा शिक्षकले विवेक पुर्‍याएर शिक्षण गर्नुपर्ने सुल्झाए ।

‘अहिलेको विद्यार्थीलाई कुनै पनि पार्टीको झोले बनाउने कि असल नागरिक बनाउने ?’ उनले भने ‘शिक्षकले विद्यार्थीलाई सही गन्तब्यमा पुर्‍याउने काम शिक्षककै हो ।’ पूर्व केन्द्रीय अध्यक्ष पुरीले असल शासकले देशमा नेतृत्व गरेमा १०-१५ वर्षमै देशमा ठूलो परिवर्तन आउने र शिक्षा क्षेत्रको विकासले पनि गति लिने विश्वास गरे ।  

‘अबको शिक्षा अब निर्वाचित संसद र सरकारमा भर पर्छ,’ उनले भने ‘राजनीतिक अस्थीरताले गर्दा निजी शिक्षा क्षेत्र पनि अस्थीर बन्न पुग्यो ।’  

कार्यक्रममा प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापाले वास्तविक कुरा नबुझ्दा सरकार फिरिएपिच्छे निजी विद्यालयलाई निसाना बनाउने गरेको बताए ।  

कार्यक्रममा प्याब्सन सुनसरी जिल्ला अध्यक्ष थानेश्वर (नेशनल) ढकालले नीति निर्माण तहमा बुझ्ने व्यक्ति नपुग्दा समस्या हुने गरेको बताए । उनले अब निजी विद्यालय पनि पुरानै पाराले सञ्चालन गर्दा शिक्षामा गुणस्तरीय वृद्दि गर्न नसकिने बताए । सो क्रममा प्याब्सन सुनसरी जिल्ला कार्यसमितिले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान समेत गरियो ।  

प्रकाशित: २९ पुस २०८२ १७:०३ मंगलबार