माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा प्रकाशनको समय नजिकिँदै गर्दा राष्ट्रिय परीक्षा बोर्ड नेतृत्वविहिन बनेको छ।
सरकारले अध्यादेश मार्फत केही नेपाल ऐन र शिक्षा ऐन संशोधन गरेलगत्तै परीक्षा बोर्ड नेतृत्वविहिन बनेको हो। बोर्डका सदस्यसचिव जंगबहादुर अर्याल पदमुक्त भएसँगै बोर्ड नेतृत्वविहिन बनेको हो। यसअघि गत पुसदेखि बोर्डको अध्यक्ष पद रिक्त छ। पूर्व अध्यक्ष डा. महाश्रम शर्माको चार वर्षे पदावधि सकिएको चार महिना वित्नलाग्दा समेत अध्यक्ष नियुक्त हुन सकेको छैन ।
हाललाई अध्यक्ष नियुक्त नहुँदासम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा सचिवले उपाध्यक्षको हैसियतमा बोर्डको कामकारबाही गर्ने छन्। सदस्य सचिवले बोर्डको आर्थिक, प्रशासनिक, शैक्षिकलगायतको जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ। अर्याल बोर्डका सहसचिव हुन्। उनी पदमुक्त भएसँगै बोर्डमा सहसचिवको रुपमा काम गरिरहेका छन्।
कक्षा १२को परीक्षा संचालन भइरहेको अवस्थामा आर्यल अनुगमनमा देश दौडमा थिए। पदमुक्त भएपछि उनी बोर्डको कार्यलयमा बसेर सहसचिवको हैसियतमा काम गरिरहेका छन्। ‘म बोर्डमा सदस्यसचिव रहुन्जेल इमान्दारी पुर्वक काम गरिरहे, निमित्तको जिम्मेवारी पनि इमान्दारीपुर्वक निर्वाह गरिरहेको छु। पद भनेको अस्थायी हो। जिम्मेवारी पुरा गरि काम गर्नु महत्वपुर्ण हो,’ अर्यालले नागरिकसँग भने, ‘बोर्डको उपाध्यक्ष एवं शिक्षा सचिव चुडामणी पौडेल सरले कार्यवाहक अध्यक्षको रुपमा निर्देशन दिए अनुसार बोर्डको कामकारबाही अगाडि बढिरहेको छ। कुनै अवरुद्ध छैन ।’
वैशाख १४ गतेदेखि सञ्चालन भइरहेको कक्षा १२ को परीक्षा यही २७ सम्म परीक्षा ञ्चालन हुन्छ। परीक्षाको क्रममा उत्तरपुस्तिका संकलनको काम भइरहेको उनले जानकारी दिए।
'कक्षा १२को परीक्षा १४ गतेदेखि सुरु भयो र म सदस्य सचिवको हैसियतले १६ गतेदेखि नै देशभरिका १२ वटै परीक्षण केन्द्रहरुबाट उत्तरपुस्तिका संकलन गरि परीक्षणको काम सुरु भएको छ, अब ४५ दिन भित्र नतिजा प्रकाशन गर्नको लागि सबै तयारी पुरा भएको छ।,' अर्यालले भने।
प्रकाशित: २३ वैशाख २०८३ १६:०३ बुधबार



