शिक्षा

वैशाख १ देखि ‘ब्रिज कोर्स’ र ‘इन्ट्रान्स तयारी’ कक्षा चलाउन सरकारको रोक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी (इन्ट्रान्स) कक्षाहरू सञ्चालनमा पूर्ण रूपमा रोक लगाएको छ।

शिक्षामन्त्रीमा सस्मित पोखरेल आएलगत्तै मन्त्रालयले विद्यालय तह र उच्च शिक्षाका विभिन्न तहमा भर्ना हुनुअघि सञ्चालन हुने यस्ता तयारी कक्षाहरू बन्द गर्ने निर्णय गरेको हो।

भर्नालाई लक्षित गरी विभिन्न संस्थाले चलाउने यस्ता व्यापारिक कक्षाले विद्यार्थी र अभिभावकलाई सास्ती दिएको मन्त्रालयले औंल्याएको छ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने देखिन्छ।’ शैक्षिक सत्र सुरु हुनुअघि नै सञ्चालन हुने यस्ता गतिविधिले शिक्षामा असमानता बढाएको मन्त्रालयले व्याख्या गरेको छ।

यस निर्णयको सुक्ष्म अनुगमन गर्न मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। वैशाख १ गतेपछि लुकिछिपी वा खुला रूपमा यस्ता कार्यक्रम सञ्चालन भएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाउन प्रशासनलाई जिम्मा दिइएको छ।

प्रकाशित: १५ चैत्र २०८२ १९:४६ आइतबार