शिक्षा

अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा पाँच जना सम्मानित

इटहरीमा सम्पन्न दुई दिने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनका क्रममा पाँच जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको छ। जनता बहुमुखी क्याम्पसले आयोजना गरेको सम्मेलन समापन समारोहमा एक जनालाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो।

‘उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्व’ विषयक सम्मेलन क्याम्पसको स्थापना कालदेखि हालसम्म निरन्तर सहयोग पुर्‍याउने व्यक्तित्वको योगदानको कदरस्वरूप आयोजना गरिएको आयोजकले जनाएको छ। सम्मानित हुनेमा पूर्व मन्त्री तथा तत्कालीन इटहरी गाउँ पञ्चायतका प्रधानमञ्च रामकुमार सुब्बा, तत्कालीन जिल्ला विकास समितिका सभापति रमेश श्रेष्ठ, पूर्व सञ्चालक समिति अध्यक्षद्वय मेदनीप्रसाद सिटौला र विश्व रिजाल तथा इटहरीका व्यवसायी भीमबहादुर पौडेल रहेका छन्।

व्यवसायी पौडेलले क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन्। साथै, क्याम्पसका पूर्व सञ्चालक समिति अध्यक्ष स्वर्गीय हरिप्रसाद रिजाललाई मरणोपरान्त सम्मान गरिएको छ। उनको तर्फबाट श्रीमती पवित्रादेवी रिजालले सम्मानपत्र ग्रहण गरिन । सबै सम्मानपत्र इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले प्रदान गरे ।

दुई दिनसम्म चलेको सम्मेलनमा चार वटा कीनोट स्पिच, १५ प्लेनरी स्पिच, चार फिचर्ड स्पिच, ८४ कन्करेन्ट सेसनसहित समूह छलफल, कविता प्रस्तुति, अन्तरक्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र तथा कार्यशाला सञ्चालन गरिएका थिए। सम्मेलनमा चार देशका अन्तर्राष्ट्रिय विज्ञसहित नेपालका ख्यातिप्राप्त शैक्षिक विज्ञको प्रस्तुति थियो। करिब पाँच सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।

समापन समारोहमा वक्ताहरूले इटहरीलाई पूर्व क्षेत्रकै शैक्षिक हबका रूपमा विकास गर्न सबै पक्ष सकारात्मक र संगठित रूपमा अघि बढ्नुपर्नेमा जोड दिए। हाल जनता बहुमुखी क्याम्पसमा कोशी र मधेस प्रदेशका पाँच हजारभन्दा बढी विद्यार्थी विभिन्न संकायमा अध्ययनरत छन्।

प्रकाशित: ६ पुस २०८२ २०:२३ आइतबार