नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूले आफ्ना मागहरू लिएर बुधवार शिक्षामन्त्री महावीर पुनसँग भेटवार्ता गरेका छन्।
भेटपछि मन्त्री पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग गरेको ९ बुँदे सहमतिको कार्यान्वयन गर्न बजेट नहुँदा तत्काल कार्यान्वयन हुन नसक्ने बताएका छन्। शिक्षामन्त्री पुनले अघिल्लो सरकारले सहमति गरे पनि बजेटमा नछुट्याएकाले कतिपय माग पूरा गर्न नसकिने अवस्था रहेको स्पष्ट पारेका थिए।
यता नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकार फेरिए पनि राज्य एउटै हुने भएकाले मागहरू पूरा हुनुपर्ने बताए।
सुवेदीले नागरिकसँग कुरा गर्दै भने, ‘त्यो बजेट पनि निकाल्न सकिन्छ। त्यसमा त्यस्तो कुरा गर्न मिल्दैन। त्यो जसरी पनि शिक्षकहरूलाई चाहिन्छ, स्थानीय भत्ता पनि चाहिन्छ, ग्रेड मिलान पनि हुनुपर्छ। त्यो त्यत्रो ठूलो एकदमै भयावह दायित्वको कुरा पनि होइन त्यो।’
अध्यक्ष सुवेदीले मन्त्री पुनले यसबारे अर्थमन्त्री र सचिवसँग सल्लाह गर्नुपर्ने बताएका छन्। शिक्षक महासंघका मुख्य मागहरू स्थानीय भत्ता र ग्रेड मिलानसहित ९ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने रहेको छ।
प्रकाशित: १० मंसिर २०८२ १३:१६ बुधबार



