शिक्षा

सरकारी विद्यालयमा छोराछोरी पढाउने प्रधानाध्यापकको अबिर जात्रासहित बिदाइ

बुधबार बिहानैदेखि विद्यालयको वातावरण अलि फरक थियो । विद्यार्थी, तिनका अभिभावकहरु र शिक्षकहरु बेखुस जस्ता अलि अध्यारो अनुहारमा देखिन्थे । बिस्तारै विद्यालयमा भित्रिनेहरुको संख्या थपिदै गयो । २ हजार बढि विद्यार्थी, तिनका अभिभावकको बाक्लो उपस्थिति हुँदै गयो । एकनास पोसाकसहित आएका आमा समूह अनि बाजा गाजाले माहोल फेरियो ।  

रोल्पा सदरमुकाम लिवाङको बालकल्याण नमुना माध्यमिक विद्यालयमा ३० बर्ष निरन्तर अध्यापन गरेका शिक्षक मधुसुदन पोख्रेलको बिदाई समारोहले अनौठो रौनकता दिएको थियो । उनको तीन दशकको अध्यापनसँगै १७ वर्ष प्रधानाध्यापक रहँदा विद्यालयको विकासमा गरेको गुण तिर्न विद्यार्थी र अभिभावक जुटेका थिए ।  

बाजागाजा बजाउँदै अबिर जात्रा, शिक्षकको मायामा लगाईएको नारा, बिभिन्न कोशेली र मायाको चिनोले छोपिएका पोख्रेल भाबुक र गम्भिर देखिन्थे । विद्यार्थी, शिक्षक र अभिभावक र स्थानीयको बाक्लो र्‍यालीले बजार परिक्रमा गर्दै गर्दा स्थानियले चोकचोकमा अबिर मालाले बिदाई गरेका थिए । ‘मास्टर होस र यस्तो पो होस ।’ बजारमा स्थानीयले चर्चा गर्दै थिए ।

र्‍यालीपछि विद्यालय प्राङ्गणमा बिदाइ कार्यक्रम आयोजना गरिएको थियो । तीन दशक विद्यालयमा सेवा गरेका शिक्षक पोख्रेलले रोल्पाको शैक्षिक सुधारमा अतुलनिय योगदान दिएको बक्ताहरुले चर्चा गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर डाँगीले लामो समयसम्म अध्यापन गरेका पूर्वप्रधानाध्यापक पोख्रेलको योगदान भुल्न नसकिने बताए ।

बिदाइ कार्यक्रममा बोल्दै भाबुक बनेका शिक्षक पोख्रेलले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न आफुले सकेको गरेको बताउदै सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउन लामो समय खर्चनु परेको सुनाए । विद्यालयको शैक्षिक एवं आर्थिक सुधारको पक्षमा लागेका उनको नेतृत्वमा प्राविधिक शिक्षा समेत सुरु भएको छ । विद्यालय परिवारले पोख्रेललाई सुनको औंठी उपहार दिएका थिए ।  

पोख्रेल संगै १५ बर्ष विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष बनेका पत्रकार तथा अधिबक्ता महेश न्यौपाने भन्छन् ‘मधुसदन सरले आफ्नो सपना र ब्यक्तिगत स्वार्थ त्यागेर दिनरात विद्यालय सुधारमा लाग्नु भएको हो । उहाँको योगदानको चर्चा गरिसाध्य छैन ।’  

एमएस्सी गणित र बिज्ञानमा १ बर्षे बिएड अध्ययन गरेका उनी २०६० असोज २५ गते यहि विद्यालयबाट स्थायी शिक्षक बनेका थिए भने २०५२ फाल्गुन १६ बाट अस्थायी शिक्षकका रुपमा यसै विद्यालयमा अध्यापन गरेका थिए । शिक्षक र प्रधानाध्यपक हुदै गर्दा बिभिन्न पुरस्कार र सम्मानबाट सम्मान पाएका शिक्षक पोख्रेल रोल्पा सुनिलस्मृती गाउँपालिकाका १ घोडागाउँका स्थायी बासिन्दा हुन ।  

श्रीमती, १ छोरा र १ छोरीका पिता पोख्रेलका दुबै सन्तानले यही विद्यालयबाट माध्यमिक स्तरको अध्ययन गरेका थिए । शिक्षकका छोराछोरी बोडिङ पढ्छन् अरुलाई सरकारी पढ्ने भन्छन् भन्ने गुनासो उनले मेटाएका थिए । ७ कक्षा सम्म बोडिङ पढेकी छोरीलाई आफुले पढाउने विद्यालयमा ल्याएका थिए भने छोराले नर्सरीदेखि कक्षा १० सम्म यहि विद्यालयमा पढेका थिए ।

 

प्रकाशित: ३ पुस २०८२ १६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App