भजनी नगरपालिका–७ का सञ्जय लोनिया विगत तीन वर्षदेखि आफ्नै गाउँको सामुदायिक विद्यालयमा अध्यापन गरिरहेका छन्। वडास्थित श्री हलौना बाबा आधारभूत विद्यालयमा कार्यरत लोनियाले वर्षभरि अध्यापन गरेबापत वार्षिक रु २०–२५ हजार मात्र पारिश्रमिक पाउँछन्।
उक्त रकम पनि निश्चित हुँदैन। अभिभावक, समाजसेवी तथा स्थानीयले स्वेच्छिक रूपमा संकलन गरेको चन्दाबाट जति जुट्छ, त्यहीअनुसार पारिश्रमिक दिइन्छ। ग्रामीण क्षेत्रका आर्थिक रूपमा कमजोर परिवारका बालबालिका अध्ययन गर्ने विद्यालयमा शिक्षक अभाव भएपछि विद्यालय व्यवस्थापन समितिले अभिभावकबाट चन्दा उठाएर पारिश्रमिक दिने निर्णय गरेको थियो। त्यसपछि लोनियाले आफ्नो अध्ययनसँगै अङ्ग्रेजी विषय पढाउन सुरु गरेका हुन्।
लोनियाका अनुसार विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक जनशक्ति कम भएकाले पठनपाठनमा समस्या देखिएको थियो। “विद्यालयमा शिक्षक अभाव भएपछि चन्दा संकलन गरेर पारिश्रमिक दिने निर्णय गरियो र मैले अध्यापन सुरु गरेँ,” उनले भने, “न्यून पारिश्रमिक भए पनि आफ्नै गाउँका बालबालिका पढाउने अवसर भएकाले काम गरिरहेको छु।”
बालबालिकाले शिक्षा अभावका कारण अघिल्लो पुस्ताले भोगेको कठिन जीवन दोहोर्याउन नपरोस् भन्ने सोचले आफू पैसाका लागि मात्र शिक्षणमा नलागेको उनले बताए। कक्षा १२ सम्म अध्ययन गरेका लोनिया गाउँमै त्यहाँसम्म पढ्ने थोरैमध्ये एक हुन्।
थारु बाहुल्य काँढा गाउँका अधिकांश बासिन्दा कृषि र ज्यालादारीमा निर्भर छन्। पढाइप्रति सचेतना कम रहेको लोनिया बताउँछन्। “यहाँ जीविकोपार्जनकै चिन्ता बढी हुन्छ, पढाइलाई प्राथमिकता दिने कम छन्,” उनले भने, “त्यसैले बालबालिकालाई लगनशील बनाउन स्थानीयको आग्रहमा काम गरिरहेको छु।” हाल उनले अङ्ग्रेजी र स्वास्थ्य शारीरिक शिक्षा पढाउँदै आएका छन्। दैनिक छ घन्टी अध्यापन गर्दै आएका उनी आफ्नै गाउँका बालबालिका पढाउन पाउँदा सन्तुष्ट छन्।
विद्यालयमा हाल १७१ विद्यार्थी अध्ययनरत छन्। कक्षा ५ सम्म सञ्चालन हुने विद्यालयमा लोनियासहित सात शिक्षक कार्यरत छन्। तीमध्ये दुई बालविकास, दुई प्राथमिक तह स्थायी, एक राहत र एक नगर अनुदान दरबन्दीका शिक्षक छन्। विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक अपुग भएकाले स्थानीयले चन्दा उठाएर लोनियालाई जिम्मेवारी दिएको प्रधानाध्यापक महेश्वरी ओझाले बताए।
विद्यालयसँग आम्दानीको स्थायी स्रोत छैन। तीन कट्ठा क्षेत्रफलमा सीमित विद्यालयसँग पाँच बिघाभन्दा बढी ऐलानी जग्गा भए पनि स्थानीयले वर्षौँदेखि अतिक्रमण गरी भोगचलन गर्दै आएका छन्। विसं २०६३ मा विद्यालय स्थापना हुँदा उक्त जग्गा खाली गराएर विद्यालयको आम्दानीसँग जोड्ने निर्णय भई हस्तान्तरणसमेत भएको थियो। तर पुनः अतिक्रमण भएपछि विद्यालय आर्थिक समस्यामा परेको ओझाले बताए।
“उक्त जग्गा विद्यालयको नियन्त्रणमा रहेको भए सामान्य खर्च र एक जना शिक्षकको तलब आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न सकिन्थ्यो,” ओझाले भने, “सञ्जय तीन वर्षदेखि वार्षिक रु १५–२० हजारमा दिनभर काम गरिरहेका छन्, उनको इमान्दारिता प्रशंसनीय छ।”
भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले विद्यालयहरूमा शिक्षक व्यवस्थापन असन्तुलित रहेको बताए। “कतै विद्यार्थीको अनुपातमा शिक्षक बढी छन् भने कतै अभाव छ,” उनले भने, “आगामी शैक्षिक सत्रदेखि व्यवस्थापन सुधार्ने तयारी भइरहेको छ।” अध्ययन अनुमतिपत्र नभएकाले तत्काल लोनियाको विषयमा निर्णय लिन नसकिने उनले स्पष्ट पारे।
शिक्षा अधिकृत पङ्खबहादुर शाहका अनुसार अनुगमनका क्रममा केही शिक्षकले दुईपटकको हाजिर एकैपटक लगाएर विद्यालय छोड्ने जस्ता कमजोरी भेटिएका छन्। ती त्रुटि सुधारका लागि काम भइरहेको उनले जानकारी दिए। रासस
प्रकाशित: १३ फाल्गुन २०८२ १७:३६ बुधबार